मङ्गलबारे (इलाम), १८ फागुन : विभागीय टोली नेपाल पुलिस क्लब इलाममा जारी दोस्रो आमन्त्रित महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बाग्मती युथ क्लब सर्लाहीलाई हराउँदै पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।
आज भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पुलिसले थुप्रै अवसर पाए पनि त्यो अवसरलाई सदुपयोग गर्न सकेन । दबाबमा रहेको बाग्मतीले पनि पाएको अवसरमा गोल गर्न सकेन । पुलिसका तर्फबाट पहिलो हाफमा पाएको दुईवटा ‘कर्नर’ प्रहारलाई बाग्मतीकी गोल रक्षक उषा थापाले सहजै बचाउ गरिन् । पुलिस क्लबका तर्फबाट सुष्मा तामाङले अवसर पाए पनि बल गोल पोस्ट माथिबाट बाहिर गयो ।
दोस्रो हाफमा पनि दबाबमा राखेको पुलिसले खेल सञ्चालन भएको १५आँै मिनेटमा ‘पेनाल्टी’ को अवसर पायो । तर पुलिसले सो पेनाल्टीको सदुपयोग गर्न सकेन । राष्ट्रिय टोलीकी ‘डिफेन्डर’समेत रहेकी पूजा रानाले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न सकिनन् । खेलको थप समयमा पनि पुलिसले गोल गर्न सकेन ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ‘टाइब्रेकर’का आधारमा गरिएको थियो । टाइब्रेकरमा पुलिसले बाग्मती युथ क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टाइब्रेकरमा पुलिसका तर्फबाट निरु थापाको प्रहार बाहिरिएको थियो भने बाग्मतीका तर्फबाट सेमीहाङ्मा लिम्बू, विष्णुमाया बल र अञ्जली खवासको प्रहारलाई गोलरक्षक उषा नाथले बचाउ गरिन् ।
ओएसिस क्लब इलामको आयोजनामा अन्तरराष्ट्रिय आमन्त्रित महिला गोडकपको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको हो । फाइनल खेल जित्नेले रु चार लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्ने छ । सोमबार विभागीय टोली त्रिभुवन आर्मी र ‘डिफेन्डिङ च्याम्पियन’ मानेभञ्ज्याङबिच खेल हुनेछ ।