‘क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ बाट सुरु हुन्छ, त्यो ‘ज्ञ’ ज्ञान हो’ नारा अङ्कित टि–सर्ट लगाएका युवाहरूको अपत्यारिलो अभियानले नेपाली राजनीतिमा एउटा नयाँ पात्रलाई स्थापित गरिदियो ।
त्यो पात्र न कहिल्यै जेल बस्यो न त दर्शन र सिद्धान्तका ठेलीहरू घोक्यो, न उसको भाषणमा भीडलाई उत्तेजित पार्ने जादु चल्छ, न लामा लेखहरू लेखेर पत्रिकाभरि छाउन जान्दछ । न इतिहासको लामो व्याख्यान न भावी योजनाहरूको फेहरिस्त अघि सार्छ ।
फेसबुकका छोटा र तिखा स्टाटसहरूबाटै राजनीतिलाई हल्लाइदिने सामर्थ्य राख्ने त्यो पात्र देशको राजधानी शहरको प्रमुखको भूमिकामा विगत दुई वर्षदेखि सार्वजनिक जीवन बाँचेको छ र पनि आम नेपालीहरूमाझ रहस्यमयी पात्रको रूपमा अनुत्तरित छ, त्यही पात्रको नाउँ हो-बालेन्द्र शाह (बालेन) ।
२०७९ को स्थानीय निर्वाचनमा देशका ७५३ पालिकामध्ये तीनवटा पालिकामा स्वतन्त्र मेयरहरू निर्वाचित हुन पुगे । संख्यात्मक रूपमा तीन जना स्वतन्त्र मानिसहरूले चुनाव जित्ने कुरा खासै चर्चा गरिरहनुपर्ने विषय नै होइन । तर ठूला राजनैतिक दलहरूको अहंकारलाई खरानी पार्दै देशकै प्रमुख शहर काठमाडौंबाटै मेयरमा बालेन शाह निर्वाचित हुनु सामान्य मानिएन । सर्वसाधारणले मात्रै होइन, बौद्धिक समुदायले समेत यस घटनालाई चासोपूर्वक हेर्यो-बालेन विजय एमाले कांग्रेस उम्मेदवारहरूको हार थियो वा पुराना राजनैतिक दलहरूप्रतिको विद्रोह ?
दुई वर्ष बितिसक्दा पनि बालेनप्रतिको मानिसहरूको चासो कम भएको छैन । बालेनको आगामी राजनैतिक चाल कस्तो रहला ? उनी स्वतन्त्रै रहलान् ? फेरि काठमाडौं मेयरमै दोहोरिएलान् ? देशैभरि स्वतन्त्र उम्मेदवारहरूको नेटवर्क खडा पो गर्छन् कि ? कुनै पार्टीमा प्रवेश गर्लान् वा छुट्टै दल खोलेर राष्ट्रिय राजनीतिमा फड्को मार्लान् ? यी प्रश्नहरूको जवाफ अहिलेलाई स्वयम् बालेन बाहेक अरू कसैले दिन नसक्लान् ।
बालेन कार्यशैली
आफू निर्वाचित भएपश्चात् पत्रकारहरूको प्रश्नमा बालेनले भनेका थिए, ‘विकास के हो ? देखाउने बेला भएको छ । संरचना बन्नु मात्रै विकास होइन, म र मेरो समूहले काम कति गर्यो भन्दा पनि कसरी गर्नुपर्छ भन्ने बुझाउने छौं ।’ हुन पनि यो दुई वर्षको कार्यप्रगतिको समीक्षा गर्दा प्राप्त परिमाणात्मक उपलब्धिहरूबाट उत्साहित हुनसक्ने अवस्था देखिंदैन ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका भन्दा झण्डै ५७ प्रतिशत सानो क्षेत्रफल जहाँ कृषि, पशुपालन, सिंचाइ, वन विकासमा खासै लगानी गर्ने ठाउँ नै छैन । नदी सभ्यता, पुरातात्विक सम्पदा, खानेपानी, आठ मिटर भन्दा चौडा सडक हेर्ने बजेट सहित अलग्गै निकाय छन् । अनि शिक्षा, स्वास्थ्य र रोजगारीका सबैभन्दा धेरै अवसर यहीं नै छन् । दक्ष जनशक्ति र उपकरणको सहज उपलब्धता छ ।
देवचुलीले वर्षभरि उठाउने आन्तरिक आम्दानी काठमाडौंले एकै दिनमा उठाउँछ । यी सबै तथ्यहरूलाई हेरेर विश्लेषण गर्ने हो भने काठमाडौं विकासको गतिलाई देवचुलीले सहजै उछिन्ने देखिन्छ । तर नागरिक सन्तुष्टिका आँखाबाट नियाल्दा देवचुली भन्दा काठमाडौंका जनता धेरै सन्तुष्ट देखिन्छन् जसको एउटै कारण हो-बालेन कार्यशैली ।
बैठक र नगरसभालाई प्रत्यक्ष प्रसारण गरेर उनले आफूलाई जनताको सुसूचित हुन पाउने अधिकारको पक्षमा उभ्याउँछन् । सुशासनको पक्षमा खरो उत्रिन्छन् । आर्थिक प्रलोभनबाट टाढै बस्छन् । सार्वजनिक सम्पत्ति दोहन र दुरुपयोग गर्नेहरूलाई देखिसहँदैनन् ।
स्थानीय कला, संस्कृति र सम्पदा जगेर्ना गर्न आतुर छन् । सबैभन्दा ठूलो कुरा त उनलाई आफ्नो अधिकार के हो भन्ने राम्रोसँग थाहा छ र प्रयोगमा पनि उत्तिकै प्रतिबद्ध देखिन्छन् ।
विषयवस्तुको उठान गर्ने उनको विशिष्ट शैलीले त झन् उनलाई एक विद्रोही नेताको रूपमा स्थापित गराइदिन्छ । न लामो भाषण न त लामो आलेख ! दश–बीस शब्दका छोटा स्टाटसबाटै राजनीतिमा हल्लीखल्ली मच्चाउने खूबी उनी बाहेकहरू कसैमा नहोला ।
उनीमाथि औंला ठडिंदा सिंहदरबारमा आगो झोस्ने धम्की दिन्छन् । नागरिकको आँखामा धुलो छर्ने शासकहरूको दैलोमा धुलोकै थुप्रो लगाइदिन्छन् । काममा अवरोध गर्न उक्साउने अति विशिष्टको पोल खोल्दै कुनै दिन आफैंले फेरि मामाघर पठाइदिने धम्की दिन पछि पर्दैनन् । उनको हक्की र निडर स्वभावले त लाखौं फ्यानहरू उत्पादन नै गरिसक्यो ।
कसिंदैछ घेराबन्दी
कांग्रेस र एमालेको वर्चस्व रहेको कार्यपालिका र नगरसभाबाट सहजै आफ्ना नीति तथा योजनाहरू कार्यान्वयन गराएर एक कुशल नगर प्रमुखको छवि स्थापित गरेका बालेनले तेस्रो नगरसभामा भने कडा प्रतिरोधको सामना गर्नु परिरहेको छ । पछिल्लो समय एमाले अध्यक्ष ओली र उनका समर्थकहरू बालेन विरुद्ध बढी आक्रामक देखिन्छन् ।
मिसन-८४ मा होमिएको र पछिल्लो उपनिर्वाचनबाट हौसिएको एमाले किन बालेन विरुद्ध उत्रिंदैछ त ? विश्लेषकहरू ठान्दछन्-आगामी स्थानीय निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारहरूको नेटवर्क खडा गर्न सक्छन् र त्यसो भयो भने सबैभन्दा बढी नोक्सानी एमालेलाई हुने आशंका अध्यक्ष ओलीलाई हुनसक्दछ ।
त्यसो त बालेन कार्यशैलीमा कमजोरी नै नभएका भने होइनन् । कतिपय सन्दर्भमा पर्याप्त अध्ययन र पूर्वतयारी नपुगेका कारण असल मनसायले सार्थक परिणाम नदिएको पनि देखिन्छ । जीविकाको खोजीमा सडकमा भौंतारिएका र कवाडी संकलनबाट जीविका चलाएकाहरूलाई लखेट्नु अघि उनीहरूको व्यवस्थापनका विकल्पबारे पनि छलफल गर्न सकिन्थ्यो होला ।
एक्सनमा गैहाल्नुअघि सरोकारवालासँगको संवाद बढाउनुपर्ने, लेख्नुअघि शब्द तौलिनुपर्ने अनि युवा जोशलाई समकक्षी र सिनियरहरूको अवमूल्यनमा होइन, शिष्ट खबरदारीमा उपयोग र अन्य निकायसँग अझै बढी समन्वयात्मक भूमिका निर्वाह गर्दा उनको आफ्नै उचाइ बढ्ने उनैका समर्थकहरूको अपेक्षा छ ।
बालेन, एक विद्रोह !
समालोचकहरू बालेनलाई अति आत्मविश्वासी तर अधैर्य देख्छन् । आलोचकहरू अराजक लोकप्रियतावादी भन्छन् भने समर्थकहरू एक असल विद्रोही ।
ईस्यू उठाएर मात्रै पुग्ने भए संसद्मा चित्रबहादुर केसी र ज्ञानेन्द्र शाही नै पर्याप्त थिए । सोबिता गौतमले झैं संसद्मा बोल्नुको कुनै अर्थ नै नरहेको अनुभव गर्नै पर्दैनथ्यो । बुझेर र लेखेर हुने भए घनश्याम भुसाल र बोलेर पुग्ने भए चन्द्र भण्डारी कहाँ पुग्थे होला ।
विडम्बना राज्य र राज्य संयन्त्र, ठूला दल र तिनका शीर्ष नेता यति धेरै अनुत्तरदायी र निर्लज्ज छन् कि यहाँ आग्रह, अपील र अनुनयको त कुनै मूल्य नै छैन । सानो भन्दा सानो जनआवाज सुनाउन पनि विद्रोह अनिवार्य बन्छ । विद्रोह अलिकति अराजक त हुन्छ नै ।
बालेन परिस्थितिले जन्माएको विद्रोहको झिल्को झैं लाग्छन् । तरुण वय र केही गरिहालौं भन्ने हुटहुटीले अलिअलि लय बिराएको हुनसक्छन् । आशा गरौं-विद्रोह लयमा फर्किन्छ, घेरा तोड्छ, अघि बढ्छ, सबैलाई फेरिन बाध्य पार्छ र देशले काँचुली फेर्छ ।