२३ साउन, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठकले मधेस प्रदेश समिति सहमहामन्त्रीमा बाराका गणेश धिमाल र सिराहाका पुनम साह नियुक्त भएका छन्।
पार्टी केन्द्रीय कार्यालय च:मतिमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

आजको बैठकले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै चलाइरहेको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउने निर्णय गरेको छ। हालसम्म ३२ लाख बढी हस्ताक्षर संकलन गरेको पनि रास्वपाले दाबी गरेको छ।
त्यस्तै बैठकले पार्टीको संस्थापक केन्द्रीय सदस्य ईश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ। उनी यसअघि हज कमिटीको अध्यक्षमा नियुक्ति भएका थिए। त्यतिबेला पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका उनलाई आजबाट पुनः जिम्मेवारीमा फर्काइएको हो।
आजको बैठकले केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतम र उपप्रमुखमा नवलपुरका ललित श्रेष्ठलाई नियुक्त गरेको छ। केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा नवलपुरकै गोकुल सापकोटा नियुक्त गरेको छ।

पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने रास्वपाले बताएको छ। पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्लामा परिचालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















