08/21/2025, 10:35:07
जनै हराएको मान्छे : सम्बन्धका धागाहरू

जनै हराएको मान्छे : केकी अधिकारी अर्थात् ‘दयालु दिदी’


काठमाडौँ, भदौ ५ : अभिनेतृ केकी अधिकारी अभिनीत चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट प्रदर्शन हुँदै छ । चलचित्रमा उहाँ मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा देखिनुभएको छ । भाइको जिन्दगीले लय समातोस् भनेर आफू श्रीमान्को दमन र खप्की सहेर बस्ने दिदी बन्नुभएको छ ।

आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि जिउने पात्र हो, उहाँ । जब भाइले उहाँ घरेलु हिंसा सहेर बसिरहेको थाहा पाउँछ, त्यसको प्रतिकार गर्न खोज्दा उल्टै उहाँ भाइमाथि नै कराउनुहुन्छ, जुन आफू अँध्यारोमा बसेर अरूलाई उज्यालो दिने चाहनाले हो । यसका पछाडि पहिलो उहाँको दयालु स्वभाव हो, अर्को परिबन्धको दुष्चक्रमा फस्दाको परिणाम हो । किनकि यथार्थमा उहाँ सपना खोज्नका लागि गाउँ छोडेर काठमाडौँ आएको पात्र हो ।

केकीले आफू सानो उमेरमै ठुलो सपना बोकेर काठमाडौँ आएकी गाउँले युवतीको भूमिकामा रहेको बताउनुभयो । केकी र विजयसँगै मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपाङ्गीमगर, रूपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।

पेपर क्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुनुहुन्छ । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहनुभएको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो भने दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक हुनुहुन्छ ।