08/20/2025, 22:24:40

उपसभामुखमाथिको व्यवहार संविधान र लोकतन्त्र माथिको प्रहार : अध्यक्ष प्रचण्ड


काठमाडौँ, भदौ ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामाथिको व्यवहारलाई संविधान, लोकतन्त्र र प्रणालीमाथिको प्रहारको संज्ञा दिएका छन् ।

बुधबार अपराह्न ललितपुरको नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका प्रचण्डले भने,  ‘इन्दिरा माथिको व्यवहार उनी माथिको मात्र हैन । यो संविधान, लोकतन्त्र र अहिलेको सिस्टम माथिको प्रहार हो ।’  प्रचण्डका अनुसार कांग्रेस र एमालेहरुलाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने हिसाबले लागेको समेत बताए । पदअनुकूल आचरण नगरेको भन्दै रानाविरुद्ध प्रस्ताव दर्ता प्रयोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा दुवै दलले मंगलबार आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए ।

रविसँग उपसभामुखको बारेमा पनि कुरा भयो । उहाँलाई झम्टने काम यो गठबन्धनले गरेको छ । मैले प्रतिपक्षको बैठक बस्दा पनि भनेको थिएँ,’  प्रचण्डले भने,  ‘ विचरा त्यो इन्दारा राना आदिवासी जनजाति समुदायको महिला । सामाजिक सेवामा समर्पित भएर राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको महिला । जसलाई सानो टेक्निकल मिस्टेक देखाएर केही नभएको विषयलाई जे गरिएको छ । विल्कुल गलत भएको छ । त्यसलाई राजनीतिक रुपमा ठूलो बनाएर इन्दिरामाथि अन्याय गरियो ।

आफ्नो क्याबिनेटको दुई पटकको गृहमन्त्रीसमेत रहेका रविको अभिभावकको हैसियतले उनको अवस्थामा बुझ्न कारागार पुगेको बताएका प्रचण्डले रवि दुब्लाएको समेत बताए । ‘म भैरवाह पनि जान चाहेको थिएँ । समय परिस्थिति नमिलेर मात्र हो,’  उनले भने,  ‘भैरहवा बस्दाको अवस्था धैरै जटिल रहेको उहाँको अनुहारमा पनि देखिन्छ । उहाँ दुब्लाउनु भएको छ । भैरहवा बसाइँमा धेरै पीडा भएको रवीले मलाई बताए ।

रविले मेरो जस्तै र मेरो भन्दा गम्भीर केशमा अरुले चै उन्मुक्ति पाएको अवस्थामा राजनीतिक रुपमा नै आफूलाई लखेट्न खोजिएको रविले प्रचण्डलाई सुनाएका थिए । रविले अदालतले नै तोकेको बैंक धरौटी राखेर मुद्दा लड्छुभन्दा पनि आफूले नपाएको बताउँदै यो सरकार र गठबन्धन आफूप्रति यति धेरै अनुदार किन भएको भनेर नबुझेको कुरा आफूसँग गरेको प्रचण्डले सुनाए ।

प्रचण्डले रविले गरेका कुरा सबैले विचार गर्नु पर्ने कुरा समेत रहेको बताए । ‘भेटमा हामीले राजनीतिक कुरा धेरै गरेनौं उहाँमाथि भएको विभेद चाहिँ कम होस् । वातावरण सहज बनोस् भन्ने हो,’ उनले भने,  ‘तर, अहिले कांग्रेस-एमालेले उहाँ माथि राजनीतिक रुपमा जसरी व्यवहार गरेको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ । उहाँले पनि यसलाई राम्रोसँग बुझ्नु भएको छ ।’  प्रचण्डका अनुसार कांग्रेस-एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम रविको केशमा गरेका छन् ।