४ भदौ, काठमाडौं : बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि सामान्य उतारचढावमै रह्यो । २ बजेपछि भने बजारमा बिक्री चाप बढेसँगै नेप्से पुनः ओरालो लाग्यो। कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो ।
आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रह्यो । बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशत घटे ।
आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ । त्यस्तै चन्द्रागिरि हिल्सको ७.४२, सगरमाथा जलविद्युत् कम्पनीको ३.८४, विन्ध्यबासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.६, अपर हेवाखोलाको ३.४, युनाइटेड इदी मर्दीको मूल्य ३.०९ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे ।