काठमाडौँ, भदौ ४ : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नुपर्ने बताउनुभएको छ।
समाजवादी चिन्तक, विचारक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको तेस्रो स्मृति दिवसमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको ‘राजनीतिक निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरासा अन्त्य गरी जनताको मन जित्नुपर्ने बताउनुभएको हो। उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयतासहितका उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “जनता मालिक हो देशको, जनताभन्दा ठुलो कोही छैन। त्यसकारण सबैले जनताको मन जित्ने काम गरौँ। अब साथीहरूले नै हो गर्ने। आयु कति हो भन्ने पनि थाहा छैन। फेरि पार्टी सभापति हुने इच्छा पनि छैन। पार्टीका सहकर्मी साथीहरूले सहयोग गर्नुभयो। जनताले भोट दिएर जिताएको हो। सधैँ प्रत्यक्ष निर्वाचन लडेको हुँ। सौभाग्यले कहिल्यै पनि हारेको छैन।”
सभापति देउवाले समाजवादी चिन्तक प्रदीप गिरीको विचारको आकर्षण र तर्क गर्ने क्षमताको प्रशंसा गर्दै उहाँसँग पहिलोपटक बनारसमा प्रजातान्त्रिक समाजवादी युवा लीग गठन गर्न भेट भएको स्मरण गर्नुभयो। उहाँले चिन्तक गिरीले कांग्रेसको सिद्धान्तलाई अघि बढाउन र जनतालाई पार्टीको सिद्धान्त बुझाउन महत्त्वपूर्ण काम गरेको बताउनुभयो।
उहाँले विद्यार्थी राजनीतिमा नख्खु जेलमा पनि सँगै बसेको स्मरण गर्दै नेता गिरी अत्यन्त अध्ययनशील र समकालीन राजनीतिक नेताहरूमा सबैभन्दा बौद्धिक राजनीतिज्ञ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “किताब पढ्न सुरु गरेपछि बिहानसम्मै पढ्नुहुन्थ्यो। धेरै पढ्ने, हाम्रा समकालीन साथीहरूमा सबैभन्दा अध्ययनशील प्रदीप गिरी नै हो। दुर्भाग्य चाँडै बिदा हुनुभयो। उहाँ कुनै पदमा नभए पनि राजकीय सम्मानका साथ बिदाइ गरियो।”
सभापति देउवाले पूँजीवाद र समाजवादबिच द्वन्द्वका सन्दर्भमा मार्क्सवाद सन्दर्भमा पनि नेता गिरीमा महत्त्वपूर्ण ज्ञान रहेको बताउनुभयो। उहाँले वर्गबिचको लडाइपछि सर्वहाराको शासण स्थापित हुन्छ भन्ने मार्क्सको सिद्धान्तका बारेमा नेता गिरीले सैद्धान्तिक रुपमा गठन अध्ययन गरेको स्मरण गर्नुभयो।
उहाँले भन्नुभयो, “कार्ल मार्क्स, लेनिन र रोजा लक्जेम्बर्गदेखि सबै विद्वानबारे प्रदीप गिरीलाई ज्ञान थियो। अङ्ग्रेजको उपनिवेश भएका देश स्वतन्त्र हुनका लागि विश्वभरि नै लडाइँ भयो। अफ्रिका र एशियासम्म अङ्ग्रेसको उपनिवेश थियो। अङ्ग्रेज शासनबाट मुक्त गराउन माक्र्स र लेनिनको पनि प्रभाव छ। यी विषयका ज्ञान प्रदीप गिरीमा भरपुर थियो।”
सभापति देउवाले समाजवादी चिन्तक गिरीका किताव, लेखरचनासहित सम्पूर्ण कृतिहरू संरक्षण एवं प्रकाशन गरी जनतालाई ती विषयमा बुझाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “प्रदीप गिरीका कृति प्रकाशन र संरक्षण गर्नुपर्छ। उहाँका लक्ष्य, सोच, छोडेर गएका काम पनि पुरा गर्नुपर्छ।”
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पुराना राजनीतिक दल र पुरानो नेतृत्व कामै लाग्दैनन् भन्ने भाष्य स्थापना गर्ने प्रयत्न भइरहेको बताउँदै यस्तो बहस गर्नेको कुनै राजनीतिक धरातल र गन्तव्य नरहेको तर्क गर्नुभयो। उहाँले नीति र कार्यक्रमका आधारमा राजनीतिक दल सधैँ जीवन्त हुने बताउनुभयो।
महासचिव पोखरेलले जनताको विश्वास जित्नेअघि आउने बताउँदै नीतिका आधारमा जनमतलाई ध्रुवीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक प्रणाली अस्थिर हुँदा पाँच वर्षे संसदको कार्यकाल भए पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष शासन गर्न नपाएको बताउनुभयो। उहाँले सरकार स्थिर बनाउँदै देशलाई गति दिनुपर्ने बताउनुभयो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दुई दशक र संविधान जारी भएको एक दशकको समीक्षा गर्दै राजनीतिक दलले गरेका गल्तीप्रति माफी माग्नुपर्ने बताउनुभयो।
उहाँले गणतन्त्र र संविधानप्रति साझा निष्ठाका आधारमा राजनीतिक दलबिच सहकार्य गर्दै गणतन्त्रप्रतिको जनताको स्वीकारोक्तिलाई सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले गणतन्त्रको स्थापनापछि भौतिक विकास, सडक विस्तार, शिक्षा, स्वास्थ्यको सेवामा पहुँच, निजामती सेवामा २८ हजार महिला सहभागिता र सशक्तिकरणसँगै देशमा महत्त्वपूर्ण परिवर्तन हासिल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “तर राजनीतिक दलमा शुद्धीकरण आवश्यक छ। आफूलाई परिमार्जन गरेर गल्ती भएकाप्रति जनतासँग माफी मागेर अघि बढ्नुपर्छ।”
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता स्थापनापछि पनि राज्यसत्ता र शक्तिमा बिचौलिया र दलाल हावी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “राजनीतिक दलबिचको जुन सन्तुलनले संविधान बनेको छ। यो सन्तुलन बिग्रिएमा देशमाथि नै खतरा उत्पन्न हुन्छ। बिचौलियाबाट नजोगाए देशको स्वतन्त्रतामाथि खतरा पर्छ। त्यसैले हामीले आफूलाई सच्याउनैपर्छ।”
वरिष्ठ पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहालले राजनीतिक नेतृत्व र दलमा समग्र रुपान्तरणको आवश्यक औँल्याउँदै भ्रष्टतन्त्रबाट मुक्त नभएसम्म देशले गति लिन नसक्ने बताउनुभयो। उहाँले राजनीतिज्ञले सत्ता र शक्तिको लालचमा नपर्ने संकल्प गरे मात्रै राष्ट्रले निकास पाउने र चिन्तक प्रदीप गिरीको सोच पुरा हुने बताउनुभयो।
सामाजिक अभियन्ता भारती सिलवालले चिन्तक गिरीको जीवन बहुआयामिक रहेको स्मरण गर्नुभयो। उहाँले सत्ता र शक्तिको लालसाबिना नै नेता गिरीले उदाहरणीय जीवन बाँच्नुभएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रदीप गिरी दार्शनिक भएको भए ओशोभन्दा पनि प्रभावकारी हुनुहुन्थ्यो। किनभने उहाँको दर्शनमा ज्ञान यति गहिरो थियो कि त्यसैकारण उहाँलाई मैले ओशोभन्दा माथि तुलना गरेँ।”
कांग्रेस केन्द्रीय सदस्य एवं स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले राजनीतिक दल नेताहरूले जनताका पक्षमा काम गर्नुपर्ने बताउँदै जनताका लागि स्वीकार्य हुनसक्ने वातावरण सिर्जना गर्न सोहीअनुसारको निष्ठा र नैतिकताले बाँधिएको हुनुपर्ने बताउनुभयो।