कल्याणपुर (सप्तरी) साउन २७ : जनमत पार्टीले सङ्गठनभित्र अनुशासन, पारदर्शिता र आदर्शलाई मजबुत बनाउने उद्देश्यसहित ’आन्तरिक शुद्धिकरण अभियान’ सुरु गरेको छ ।
पार्टी भित्र पक्षपात, गुटबन्दी, घुसपैठ र व्यक्तिगत स्वार्थका गतिविधिको अन्त्य गरी कार्यकर्ता र नेतृत्वबीचको विश्वास, एकता तथा साझा लक्ष्यप्रति प्रतिबद्धता पुनःस्थापना गर्न अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत सबै तहका नेताकार्यकर्ताको कार्यशैली, गतिविधि र योगदानको मूल्याङ्कन, कार्यकर्ताले देखेका समस्या वा अनुशासनहीन गतिविधिबारे गोप्य रुपमा सुझाव तथा शिकायत दिने व्यवस्था मिलाइने जनमतपार्टीका उपाध्यक्ष एवम् सङ्गठन विभाग प्रमुख डा जयकान्त राउतले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।
नेताकार्यकर्ताबाट लिखित प्रतिवेदनमार्फत स्व–मूल्याङ्कन गराइने र तथ्य–जाँच समितिद्वारा आरोपहरुको सत्यता परीक्षण गरिने गल्ती गर्ने तर सुधारको इच्छाशक्ति देखाउनेलाई चेतावनी, प्रशिक्षण वा मार्गदर्शन दिइने, बारम्बार नियम उल्लङ्घन गर्ने वा पार्टी हितविपरीत कार्य गर्नेहरुलाई निलम्बन वा बर्खास्तगी जस्ता कडा कारबाही गरिने समेत पार्टीले जनाएको हो ।
पारदर्शी प्रक्रिया, एकता कायम र सकारात्मक दृष्टिकोणलाई अभियानको आधार बनाउँदै राजनीतिक शिक्षा, नीति, सङ्गठनात्मक अनुशासन र नेतृत्व क्षमतामा तालिमका कार्यक्रम पनि सञ्चालन गरिने जनमत पार्टीले जनाएको छ ।
अभियानपछि सङ्गठनभित्र स्वच्छ छवि र उच्च नैतिकता कायम हुने, नेताकार्यकर्ताबिच आपसी विश्वास र एकता मजबुत हुने तथा पार्टी जनताबीच अझ विश्वसनीय र आकर्षक बन्ने अपेक्षा जनमत पार्टीले विश्वास लिएको छ ।