08/21/2025, 12:01:19

सिद्धबाबा सुरुङमार्ग : सकियो आधाभन्दा धेरै काम


तानसेन (पाल्पा), भदौ ५ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघिबढेको सिद्धबाबा सुरुङमार्गको काम ६० प्रतिशत सकिएको छ । छ महिनाअघि सुरुङ ‘ब्रेक थ्रु’ भएपछि इन्भर्ट र लाइनिङको काम धमाधम चलिरहेको छ । मुख्य सुरुङ र तीन वटा बाइपास ढोकामा इन्भर्टको काम सकिएको छ ।

आयोजनाको कार्यालय बुटवलका प्रमुख कृष्णराज अधिकारीले एक हजार ८९ मिटर लामो सुरुङमार्गमा हालसम्म ९९४ मिटर लाइनिङको काम सकिएको जानकारी दिनुभयो । अधिकारीले मुख्य सुरुङको एक हजार ८९ मिटर र तीन वटा बाइपास ढोकामा लाइनिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । पहिलो बाइपास ढोकामा १२९ मिटर, दोस्रो बाइपास ढोकामा आठ मिटर र तेस्रोमा १०४ मिटर लाइनिङको काम सकिएको छ ।

पहिलो चरणमा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने काम सकिएपछि दोस्रो चरणमा इन्भर्ट र लाइनिङको काम सुरु गरिएको थियो । आयोजनाले दोस्रो चरणमा लाइनिङको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ । लाइनिङको काम सकिएपछि सुरुङको बाहिरी भागमा काम हुने छ ।

कार्यालयका सूचना अधिकारी सविता ज्ञवालीले सुरुङको उत्तरतर्फ र दक्षिणतर्फ पहिरो खस्ने सम्भावना भएका क्षेत्रलाई सुरक्षित बनाउन स्लोप प्रोटेक्सनको काम हुने जानकारी दिनुभयो । ज्ञवालीले त्यसले सडकमाथिबाट पहिरो खस्न रोक्ने र पहाडमा झुन्डिएर बसेका ढुङ्गा खस्नबाट रोक्ने बताउनुभयो ।

सुरुङमार्गको उत्तर र दक्षिणतर्फको चट्टान अड्याउन १७ हजार ६० वर्गमिटर स्लोप निर्माण गर्नुपर्ने छ । आयोजनाको कार्यालय बुटवलले त्यसमध्ये हालसम्म तीन हजार पाँच सय वर्गमिटर स्लोप बनाउने काम सकिएको जनाएको छ । यस्तै सडकको तल्लो तिनाउ नदीको भागमा समेत एक हजार ८६० वर्गमिटर स्लोप निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त क्षेत्रमा भने हालसम्म काम हुन सकेको छैन । सुरुङमार्ग आयोजनाको हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ भने ५१ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको तिनाउ–३, दोभान सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरोले जनधनको क्षति भए पनि सरकारले सुरुङमार्ग बनाउने योजना अघि सारेको थियो । सिद्धबाबा क्षेत्रको चार किलोमिटर सडकलाई पहिरोको जोखिममुक्त बनाउन काम भइरहेको छ । सुरुङ बनेपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, रुपन्देही, म्याग्दी, कपिलवस्तुलगायतका जिल्लामा जान आउन सहज हुने छ ।

पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । आयोजनाकी सूचना अधिकारी ज्ञवालीले कम्पनीले अबको डेढ वर्षभित्र सबै काम सक्ने गरी काम गरिरहेको जानकारी दिनुभयो ।