बिहिबार, माघ १७, २०८१

बेलडाँडीमा गुड उत्पादन गर्न डम्मर शाहलाई भ्याइनभ्याइ


१७ माघ, कञ्चनपुर । कतै उखु तौलिँदै छ, कतै पेलिँदै छ । उखु पेलेर आएको जुसलाई ठूल्ठूला कराहीमा उमालिन्छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिका–२ चौवन्नीमा रहेको एउटा गुड उद्योगमा हिजोआज यस्तै व्यस्तता छ ।

उत्पादनका लागि मात्रै होइन, यहाँ खरिद गर्न आउने ग्राहकलाई गुड बिक्री गर्न पनि त्यस्तै भ्याइनभ्याइ छ । यतिबेला ठूला चिनी मिलदेखि साना गुड उद्योगमा चहलपहल बढेको देखिन्छ । उखु उत्पादन हुने सिजन कात्तिकदेखि फागुनसम्मै यो व्यस्तता रहन्छ । ‘अहिले त खेतमा उखु काट्नेदेखि उद्योगसम्म ल्याउने, पेल्न र गुड उत्पादन गर्ने एकै पटक हुन्छ,’ बेलडाडी–२ चौवन्नीस्थित केदार गुड उद्योगका सञ्चालक डम्मर शाहले भने, ‘कामदार पाउन पनि गाह्रो हुन्छ, त्यही भएर झन् असहज भएको छ ।

२०६५ देखि गुड उत्पादन गर्न थालेका शाहले २५ बिघामा उखु खेती पनि गरिरहेका छन् । आफूले उत्पादन गरेको उखु आफ्नै उद्योगमा पेल्छन् । त्यसबाहेक थप २५ बिघाको उखु खरिद गर्छन् । एउटा सिजनमा करिब १२ हजार क्विन्टल हाराहारी उखु पेलेर उनले एक हजारदेखि ११ सय क्विन्टलसम्म गुड उत्पादन गर्छन् । उनले १८ जनालाई रोजगारी पनि दिएका छन् ।

गुडको माग धेरै छ, पुर्‍याउनै सकिँदैन,’ शाह भन्छन्, ‘आधाभन्दा बढी त उद्योगबाटै बिक्री हुन्छ ।’  काम विशेषले बेलडाडी पुग्ने धेरैजसोले उनको उद्योगबाट गुड मात्रै नभई खुदोसमेत लगेर जाने गरेका छन् । भारतबाट आयात हुने गुडभन्दा राम्रो र स्वादिष्ट समेत हुने भएकाले ग्राहकको रोजाइमा परेको शाहले बताए । यसबाहेक उनले कैलालीको धनगढी र सुदूरपश्चिमकै पहाडी जिल्लामा पनि पठाउने गरेका छन् । दक्षिणी क्षेत्रमै पर्ने बेलौरी नगरपालिका–६ भुडाकोटका सहवीर सुनारलाई पनि अहिले भ्याइनभ्याइ छ । उनी पनि आफ्नो उद्योगमा गुड उत्पादनमा तल्लीन छन् । उनी आफैं उखु उत्पादन गर्छन् । त्यही उखु पेलेर गुड बनाउँछन् ।

कम परेको उखु गाउँबाटै खरिद गर्छौं,’ सुनारले भने, ‘चार–पाँच महिना निकै चाप हुन्छ, त्यसपछि खाली भइन्छ ।’  एक सिजनमा उनले १० हजार क्विन्टल बढी उखु पेल्छन् । त्यसबाट करिब हजार/बाह्र सय क्विन्टल गुड उत्पादन गर्छन् । सुनारले उत्पादन गरेको गुड पनि स्थानीय बजारमै बिक्री हुन्छ । विगतमा गुड उत्पादन निकै बढी हुन्थ्यो । त्यति बेला उनले सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लासम्म पुर्‍याउँथे । तर अहिले दुई वटा चिनी मिल खुलेपछि उखु पाउनै गाह्रो हुन थाल्यो । त्यसकारण उनले गुड उत्पादनको मात्रा घटाएका छन् ।

यति मात्रै होइन, भारतबाट न्यून गुणस्तरको गुड अवैध रूपमा भित्रिने हुँदा यहाँको गुडले बजार पाउन गाह्रो हुन्छ । भारतबाट आयत गरिएको गुड सस्तो हुने भएकाले यहाँको गुडले लागत मूल्य समेत नपाउने व्यवसायीको भनाइ छ । २०६८ मा यही कारणले ठूलो घाटा लागेपछि आधा दर्जन उद्योगहरू बन्द भएको व्यवसाय शाह बताउँछन् ।

त्यतिबेला धेरै उद्योग बन्द भए, मैले पनि ठूलो घाटा लागेर एक बिघा जमिन नै बिक्री गरें,’ शाहले भने, ‘अहिले थोरै उखु पेल्ने त्यसैबाट जेनतेन उद्योग चलाउने भन्ने छ ।’ पछिल्लो समय भारतबाट आयात हुगे गुडको तुलनामा यहाँ उत्पादन हुने गुडको गुणस्तर राम्रो भएकाले सहजै बजार पाउने गरेको उनले जनाए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading