७ माघ, काठमाडौं । तीन महिनाअघि रिलिज गरिएको ‘आपटी.’ गीत अहिले बच्चादेखि पाका दर्शक/श्रोतामाझ निकै चर्चित भइरहेको छ । यो गीतको भिडियोले यो साता मात्रै युट्युबमा ९० करोडभन्दा धेरै भ्युज बटुलिसकेको छ । रिलिज भएको ९२ दिनमै यतिका धेरै भ्युज पुर्याउने यो पहिलो के–पप गीत हो । पिंकभिल्लाका अनुसार यसअघि साइको ‘गङनम स्टायल’ ले १ सय ४४ दिनमा ९० करोड भ्युज बटुलेको थियो ।
‘बिलबोर्ड ग्लोबल २००’ र ‘ग्लोबल एक्स्क्लुसिभ’ जस्ता चार्टमा विगत ११ सातादेखि यो गीत लगातार पहिलो नम्बरमा छ । ‘बिलबोर्ड हट १००’ मा पाँचौं नम्बरमा पुगेसँगै यस गीतकी गायिका रोज पनि सूचीमा पर्ने पहिलो महिला के–पप आर्टिस्ट बनेकी छन् । यो गीतलाई के–पप ब्यान्ड ‘ब्ल्याकपिंक’ की सदस्य रोज र अमेरिकी गायक ब्रुनो मार्सले गाएका हुन् । अंग्रेजी र कोरियन भाषाको यस गीतमा विश्वभरका मानिसहरूले नाच्ने र भिडियो बनाउने क्रम चलिरहेको छ भने यसका बारे ‘डान्सिङ च्यालेन्ज’ र अन्य भिडियो सामाजिक सञ्जालमा भेट्न सकिन्छ ।
नेपालमा पनि ‘आपटी.’ गीत विशेषतः जेन जी र जेन अल्फा पुस्तामाझ व्यापक छाएको देखिन्छ । के–पप मन पराउनेहरूले यसमा टिकटक बनाउने, नाच्ने गरेका छन् । पप र आरएन्डबी सँगै के–पपको संयोजनले यस गीतमा मिठास भरेको छ भने यस्तो गीतमा हुने अनुभूति अर्थात् ‘भाइब्स’ पनि अनलाइन प्रयोगकर्ताको रोजाइमा पर्ने गरेको छ । छोटा र सरल शब्द अनि ‘क्याची मेलोडी’ राखेर यो गीत सम्झिन सजिलो हुने गरी बनाइएको छ । यस गीतका संगीतकार टेडी पार्कर हुन् र उनले यसअघि पनि रोजका ‘अन द ग्राउन्ड’ जस्ता गीतमा संगीत भरेका थिए ।
ब्रुनो मार्ससँग सहकार्य गर्न पाएकोमा उत्साहित बनेकी रोजले ‘आपटी.’ को अर्थबारे विभिन्न अन्तर्वार्तामा बताउँदै आएकी छन् । उनका अनुसार आपटी भनेको कोरियामा चर्चित एउटा ‘ड्रिङकिङ गेम’ हो । ‘एक दिन स्टुडियोमा अभ्यास गरिरहँदा मैले यो गेम ब्रुनोलाई खेलाएकी थिएँ, उनी असाध्यै रमाए,’ रोजले भनेकी छन्, ‘त्यही दिन यो खेललाई गीतमा उतार्ने हाम्रो योजना बन्यो ।’ खेलको स्थानीय सांस्कृतिक पक्षलाई समेटर रोचक तर गहन भावको गीत भएकाले यो चर्चित बनेको हुन सक्ने रोजको बुझाइ छ ।

कीर्तिमानी शैलीमा चलिरहेको यस गीतसँगै विश्वव्यापी रूपमा टिकटक र इन्स्टाग्राम रिल्समा ट्रेन्ड भइरहेका गीतहरूले नयाँ पुस्ताको संगीत रुचिलाई मात्रै नभई सांगीतिक उद्योगको स्वरूपलाई पनि परिवर्तन गर्दै लगेको बुझ्न सकिन्छ । हालका अरू उदाहरणहरूमा फिफ्टी फिफ्टीको ‘क्युपिड’ गीतले के–पपलाई थप ग्लोबल बनाउन मद्दत गरेको मानिन्छ भने डोजा क्याटको ‘पेन्ट द टाउन रेड’ ले विभिन्न चार्टहरूमा लगातार शीर्ष स्थान हासिल गर्दै आएको छ ।
यस्तै जङकक फिचरिङ लाट्टोको गीत ‘सेभेन’ ले स्पटिफाइको ‘डेली टप ग्लोबल चार्ट’ मा १ सय दिनभन्दा बढी शीर्ष स्थान कायम गरेर नयाँ रेकर्ड बनाएको छ । यी गीतहरूको लोकप्रियता सामाजिक सञ्जालमा मात्र सीमित छैन, तिनीहरूले विभिन्न म्युजिक स्ट्रिमिङ प्लाटफर्ममा पनि ऐतिहासिक उपलब्धि र कमाइ गरिरहेका छन् ।
टिकटकमा धेरै चर्चित भएका अन्य गीतहरूमा ओलिभिया रोड्रिगोको ‘भ्याम्पायर’, टेलर स्विफ्टको ‘क्रुअल समर’ र आइस स्पाइसको ‘प्रिन्सेस डायना’ लगायत छन् । यी गीतहरूको छोटो, कर्णप्रिय र आकर्षक भिडियोको संयोजनले भाइरल हुन मद्दत गरेको विश्लेषण हुने गरेको छ । नयाँ पुस्ताले संगीत छनोट गर्दा शब्द, लय र भिडियोसँगै भाइब्स अर्थात् सांगीतिक अनुभूति पनि हेर्ने गरेको बताउने गरेका छन् । उदाहरणका लागि ‘प्रिन्सेस डायना’ को डान्स च्यालेन्जले विश्वभरका प्रयोगकर्तालाई आकर्षित गर्यो भने ‘क्रुअल समर’ रिल्स र टिकटकमा व्यापक उपयोग भयो ।
नयाँ पुस्ताले संगीत चयनमा भावनात्मक र रचनात्मक अभिव्यक्तिलाई पनि प्राथमिकता दिने गरेका छन् । उनीहरूले मिश्रित शैलीका गीतहरू छानिदिन्छन्, जहाँ पप, हिप–हप, आरएन्डबी र फ्युजन मिसाइएको हुन्छ । एसजीएको ‘किलबिल’ र विकेन्डको ‘डाइ फर यु’ जस्ता गीत टिकटकमा भाइरल भएपछि एकसाथ चार्टहरूमा उचाइ हासिल गरेका थिए ।

खासै चर्चित नरहेका स्टेफेन सान्चेज सामाजिक सञ्जालमा भाइरल भएर पछि एक अर्बभन्दा धेरै पटक स्ट्रिम हुन सफल भएका थिए । जेभीकेईको ‘गोल्डेन आवर’, रुथ बीको ‘ड्यान्डेलियोन्स’, गेयलको ‘एबीसीडीईएफयु’ जस्ता गीतहरू पनि भाइरलको बाटो हुँदै चार्टहरूमा अग्रपंक्तिमा आएका थिए । ब्रुनो मार्सले नै लेडी गागासँग बनाएको ‘डाइ विद अ स्माइल’, सब्रिना कार्पेन्टरको ‘टेस्ट’, बिल्ली एलिसको ‘बर्ड्स अफ अ फिदर’ जस्ता गीतहरू तिनले सिर्जना गर्न भाइब्सकै कारण स्ट्रिमिङ प्लाटफर्म र सामाजिक सञ्जाल दुवैतिर चर्चित हुन पुगे ।
भाइरल गीतहरूले सेट गरेका रेकर्डहरू पनि उल्लेखनीय छन् । माइली साइरसको ‘फ्लावर्स’ले स्पटीफाइमा २४ घण्टामै सर्वाधिक स्ट्रिम हुने गीतको रेकर्ड बनायो । क्यारोल जी र साकिराको ‘टी क्यू जी’ ले युट्युबमा केही घण्टामै करोडौं भ्युज प्राप्त गरेपछि भाइरल भयो । नयाँ पुस्ताको संगीत रुचि विविधताले भरिएको संगीतकर्मीहरूको बुझाइ छ । उनीहरू गीतले सिर्जना गर्ने क्षणलाई पनि ध्यान दिने गर्छन् । यस्ता ट्रेन्डहरूले ‘आपटी.’ जस्ता गीतमार्फत सांगीतिक उद्योगलाई सामाजिक सञ्जालसँग अझ नजिक बनाइरहेका छन् ।
कुनै गीत चर्चित बनाउन सामाजिक सञ्जालको भूमिका यति गहन भएको छ, एमिनेम, वियोन्से, लाना डेल रे, ब्रुनो मार्स, टेलर स्विफ्ट, ब्याड बन्नी, ड्रेक, ये, ट्रभिस स्कटसँगै बिली एल्लिस, सब्रिना कार्पेन्टर, टेडी स्विम्स, डोजा क्याट, एसजीए, क्यारोलजीजस्ता कलाकारहरू रातारात प्रतिस्पर्धामा उत्रन सक्छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










