काठमाडौँ, कात्तिक २१ : सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण आजैबाट प्रभावित हुने भएको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए ।
मुहान थुनिदिएपछि उपत्यकाको खानेपानी वितरण प्रणालीमा निकै ठूलो असर पर्ने भएको छ । मेलम्चीबाट सुरुङमार्फत दैनिक करिब २० करोड लिटर पानी पठाइने गरेको छ । संघर्ष समितिका अध्यक्ष पासाङ शेर्पाका अनुसार मुख्य खोला मेलम्ची र सहायक रिबर्मा खोलाको पानी बन्द गरिएको छ । सरोकार समितिको नाममा मेलम्चीको काठमाडौंस्थित मुख्य कार्यालयस्थित कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएको ५ दिनका दिन मुहानबाट काठमाडौं ल्याइएको पानी खोलामा फर्काइएको हो ।
पानी वितरणको जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि काठमाडौंको आन्तरिक स्रोतबाट मात्र पानी वितरण गर्न सकिने जनाएको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौंका थोक वितरण केन्द्रहरूमा पठाइएको पानी पूर्ण रूपमा बन्द हुने जानकारी केयूकेएलले दिएको छ ।

केयूकेएलका प्रवक्ता प्रकाश राईले मुहान बन्द भएपछि सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट वितरण गर्न सक्ने अवस्था नरहने बताए । उनले भने, ‘पानीको अभाव हुन्छ, अहिले जसरी वितरण गर्न सक्दैनौं ।’ केयूकेएलका अनुसार दैनिक झन्डै २० करोड लिटर पानी अभाव हुँदा पहिलेकै जसरी नियमित रूपमा पानी वितरण हुन सक्दैन ।
२०७८ असारमा गएको बाढीपहिराले मुहान क्षेत्र हेलम्बु र मेलम्चीमा धनजनको ठूलो क्षति गरे पनि मेलम्ची आयोजनाले स्थानीय समस्याप्रति बेवास्ता गरेका कारण पानी नै बन्द गर्नुपर्ने अवस्था आएको जानकारी स्थानीय राजनीतिक अगुवा राजकुमार भण्डारीले दिए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले स्थानीयले एक्स्काभेटरको सहयोगमा पानी खोलातिर फर्काएको जानकारी दिए । उनले मेलम्ची बाहेकको खहरेको पानी सुरुङमा पठाउन तयार गरेको संरचनाको पाइप फुटाइएको र कर्मचारी तथा मर्मतसम्भारमा खटिएका कामदारलाई जबर्जस्ती हटाएर पानी खोलामा पठाएको बताए । संघर्ष समितिले एक्स्काभेटर मेलम्चीकै प्रयोग गरेका थिए भने चालक बाहिरबाट लगेका थिए । २०७८ को बाढीले क्षति गरेका कारण पानी पठाउने सुरुङको मुखमा अस्थायी संरचना मात्र रहेको छ । कार्यकारी निर्देशक दासले संघर्ष समितिको माग मेलम्ची खानेपानी र मन्त्रालयले मात्र पूरा गर्न नसक्ने बताए ।
तत्कालीन खानेपानी मन्त्री यादवको रोहबरमा हेलम्बु गाउँपालिकामा २०८१ असोज २१ मा संघर्ष समितिसँग सम्झौता भएको थियो । त्यतिबेला मन्त्री यादवले नै हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितहरूको पुन:स्थापना, सडक, पुल तथा भौतिक संरचनाको निर्माण तथा पानीको महसुलको निश्चित प्रतिशत रकम हेलम्बुको विकासमा लगाउनेसम्बन्धी लिखित सहमति जनाएका थिए ।
उक्त सहमतिपछि मात्र काठमाडौंमा पानी ल्याउन दिइएको थियो । सम्झौतामा मन्त्री यादव, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, संघर्ष समिति र स्थानीय राजनीतिक दलका कार्यकर्ताबीच माग पूरा गर्ने सहमति भएको थियो । सम्झौताका क्रममा मन्त्री यादवले सहमतिको कार्यान्वयनमा आफू इमान्दारीपूर्वक लाग्ने आश्वासन स्थानीयलाई दिएका थिए ।
स्थानीयको मागअनुसार त्यतिबेला हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितहरूको पुन:स्थापना, सडक, पुल तथा भौतिक संरचनाको निर्माण तथा पानीको महसुलको निश्चित प्रतिशत रकम हेलम्बुको विकासमा लगाउनेसम्बन्धी सहमति भएको थियो ।
बाढीपहिरो आएकै साढे तीन वर्ष बिते पनि सरकार र मेलम्ची आयोजनाले स्थानीय समस्यालाई बेवास्ता गरेको स्थानीय बासिन्दाको दु:खेसो छ । ‘प्रदेश र संघ दुवै सरकारले हेलम्बुमा भएको धनजनको क्षतिलाई बेवास्ता गर्दै आए,’ स्थानीय राजनीतिक दलका अगुवा तथा सम्झौताका साक्षी राजकुमार भण्डारीले भने, ‘बाढीपहिरोले आक्रान्त नागरिकप्रति सरकारको जवाफदेहिता पटक्कै देखिएन ।’ क्षति भएको संरचनाको पुनर्निर्माण तथा पीडितहरूको पुनर्वास, क्षतिग्रस्त सडक सञ्जालहरुको पुनर्निर्माण हुन नसकेको भण्डारीले बताए ।

मेलम्चीको मुख्य कार्यालयमा ६ दिनदेखि ताला
सिन्धु र काभ्रेका स्थानीय चार वटा सरोकार समितिले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएको ६ दिन बितेको छ ।
गत १६ गतेदेखि कार्यकारी निर्देशक आफ्नो कार्यकक्षामा प्रवेश गर्न पाएका छैनन् । लाजिम्पाटको पानीपोखरीस्थित कार्यकक्षमा ताला लागेपछि मेलम्ची आयोजनाको प्रशासनिक काम ठप्प भएको छ । ताला लगाउने सरोकार समितिसँग आज दिउँसो सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा वार्ता गर्ने तयारी गरिएको छ । त्यसका लागि मेलम्ची खानेपानी विकास समितिले सरोकार समितिहरूलाई पत्राचार गरेको छ ।
– ऋषिराम पौड्याल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











