11/07/2025, 12:15:00
शुक्रबार, कार्तिक २२, २०८२

मदन भण्डारी राजमार्ग विस्तार : रुरु बजार क्षेत्रका घरटहरा हटाउन अपिल


रेसुङ्गा (गुल्मी), कात्तिक २१ : रुरुक्षेत्र गाउँपालिका गुल्मीले बजार क्षेत्रमा पर्ने घर टहरा तथा संरचना हटाउन सार्वजनिक सूचना मार्फत अपिल गरेको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले डेढ वर्षदेखि रिडी–तम्घास सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

बजार बाहेकका स्थानमा कालोपत्रेको काम भएपनि बजार क्षेत्रमा रहेका अस्थायी संरचनाले नहटेका कारण समस्या भइरहेको आयोजना कार्यालयले जनाएको छ । रुरुक्षेत्र गाउँपालिकाले जारी गरेको सूचनामा रिडी बजार वडा नं. १ को रिडी, वडा नं. ३ को पानी ट्याङ्गकी र वडा नं.४ को आम पोखरा र बलेटक्सार बजारमा सडक क्षेत्रका अस्थायी संरचना र टहराहरु हटाउन गाउँपालिकाले आग्रह गरेको छ ।

संरचनाका कारण काम नहुँदा धुलो, फोहोर, निर्माण कार्यमा बाधा पु¥याइरहेको र संरचनाको क्षतिपूर्तिमा समेत समस्या हुने भएकोले विकास निर्माणको काममा सहजीकरण गर्न गाउँपालिकाले आग्रह रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सवैभन्दा धेरै बलेटक्सार क्षेत्रमा संरचना भत्काउन पर्नेछ । मदनभण्डारी राजमार्गमा पर्ने रुरुक्षेत्र गाउँपालिकाका ५० मध्ये ३२ घरटहरा भत्काउन बाँकी रहेको पाण्डेले बताउनुभयो । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासबाट घर टहरा व्यवस्थापनका लागि गाउँपालिकामा पत्र आएकाले बजार क्षेत्रका क्रियाशील व्यवसायी, उद्योग तथा व्यापारिक संघसंस्थालाई समेत आवश्यक सहकार्य र संरचना हटाउने काममा सहयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

मापदण्ड अनुसार हटाउन पर्ने संरचनाको क्षतिपूर्तिका लागि मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घास, गुल्मीमा सम्पर्क गर्न पाण्डेले लाभग्राहीलाई आग्रह गर्नुभयो । समान्तर एलाइट जेभीले २०८२ फागुनमा सक्ने गरेर एक अबै ५० करोड रुपियाँको लागतमा २५ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता २०७९ फागुनमा गरेको थियो ।

– टोपलाल अर्याल