11/06/2025, 21:03:34
बिहिबार, कार्तिक २१, २०८२

रवि लामिछाने र छविराज जोशीको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश


भैरहवा, कात्तिक २० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ।

बिहीबार न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालतको आदेश र मिसिल फाइल माग गर्दै आदेश जारी गरेको हो। उक्त आदेशपछि लामिछानेले आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउनुपर्ने मागसहित दिएको निवेदनमाथि सुनुवाइ अघि बढ्नेछ।

बिहीबारको सुनुवाइका क्रममा छविराज जोशीतर्फका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मिसिल अपुग भएको भन्दै थप फाइल झिकाउने आदेश दिनुभएको थियो। फाइल आएपछि मात्र अर्को पेसी तोक्ने र त्यसपछि सुनुवाइ अघि बढ्ने जानकारी अधिवक्ता खतिवडाले दिनुभयो। न्यायाधीशको उक्त निर्णयपछि बिहीबार लामिछाने पक्षका कानुन व्यवसायीलाई बहस गर्न मौका मिलेन। मुद्दाको अर्को पेसी कहिले हुने भन्ने टुंगो लागिसकेको छैन।

लामिछाने र जोशी दुवै एउटै प्रकारको कसुरमा थुनामा हुनुहुन्छ। जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश जारी गर्दा लामिछानेसँग भने एक करोड रुपियाँ धरौटी मागेको थियो। जोशीले धरौटीमा रिहा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिनुभएको थियो भने लामिछानेले पनि धरौटी रकम बढी भएको भन्दै उच्च अदालत पुग्नुभएको थियो। तर उच्च अदालतले जोशीलाई थुनामा राख्ने आदेश सदर गर्दै लामिछानेलाई पनि पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो।

उक्त आदेश सर्वोच्च अदालतले पनि यथावत् राखेपछि लामिछाने हाल कारागारमै हुनुहुन्छ। यसअघि उहाँले बिगो बराबरको धरौटी राखेर रिहा हुन जिल्ला अदालत रुपन्देहीमा निवेदन दिनुभएको थियो, तर अदालतले अस्वीकार गरेको थियो। जिल्लाबाट छुटकारा नपाएपछि उहाँ हाल उच्च अदालतमा पुग्नुभएको हो।

– लक्ष्मण पौडेल