काठमाडौँ, कात्तिक २१ : सगरमाथा आरोहण आफैँमा जोखिम र चुनौतीपूर्ण यात्रा हो । सगरमाथा चुचुरोमा पहिलो मानव पाइला पुगेको ७२ वर्षमा धेरै कीर्तिमान कायम भएका छन् । सगरमाथाको चुचुरोमा एकै जनाले दर्जनौँ पटक आरोहण गरेको, दुवै खुट्टा गुमाएकादेखि विभिन्न प्रकारका फरक क्षमता (शारीरिक अपाङ्गता) भएका र दृष्टिविहीनसम्मले चुचुरो चुमेर संसारलाई मानवीय साहस र क्षमता देखाइसकेका छन् ।
बर्सेनि आरोहीबाट नयाँ नयाँ कीर्तिमान थपिँदै गएको सगरमाथामा आगामी वसन्त याममा अर्को नयाँ कीर्तिमान बनाउन यतिबेला एक जना फरक क्षमताकी विदेशी महिला आरोही आफ्नो कीर्तिमान र साहस प्रदर्शनको तीव्र तयारीमा हुनुहुन्छ ।
लिथुवानियामा जन्मिएर हाल बेलायत बस्दै आउनुभएकी ३० वर्षीय क्यारोलिना प्याकेनाइटको श्रवण र दृष्टि क्षमता कम छ । ‘असर सिन्ड्रोम’ (श्रवण र दृष्टि दुवैमा समस्या ल्याउने वंशाणुगत रोग) बाट पीडित उहाँ आफ्नो आँखाको ज्योति गुम्नुअघि सगरमाथाबाट संसार नियाल्ने सपना साकार पार्न सङ्घर्षरत हुनुहुन्छ ।
सगरमाथा आरोहण गर्ने पूर्वतयारी अनुसार मनाङमा रहेको हिमलुङ हिमाल आरोहण सकेर काठमाडौँ फर्किनुभएकी क्यारोलिनाको सगरमाथा आरोहण गरेर संसारभरिका फरक क्षमता भएका व्यक्तिलाई असम्भव भन्ने कुरा केही नभएको प्रेरणा र सन्देश दिने योजना रहेको छ ।
उहाँले भन्नुभयो, “पछिल्लो एक दशकदेखि मेरो सुन्ने र देख्ने क्षमता विस्तारै कम कम हुँदै गएको छ । १९ वर्षको उमेरदेखि सुनाइ र बोलाइ दुवै क्षमता कमजोर हुँदै गए पनि म सगरमाथा आरोहणमार्फत हामी पनि अन्य आमनागरिक जस्तै सक्षम छौँ भनेर संसारभरिका फरक क्षमता भएका व्यक्तिलाई प्रेरणा दिने तयारीमा छु । असम्भव केही छैन तर हामीले सम्भव बनाउनु पर्छ । संसारका फरक क्षमता भएका व्यक्तिलाई घरबाहिर निस्कनसमेत म आग्रह गर्दछु ।” शारीरिक अशक्त भएका व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफू जस्तै अन्य साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

सगरमाथा आरोहणकै तयारी अनुसार सन् २०२४ मा ६,४७६ मिटर उचाइको मेरा पिक आरोहण गरिसक्नुभएकी उहाँले संसारकै अप्ठ्यारो बाटो पार गर्दै सगरमाथा आरोहण सफल भएपछि मात्रै आफूभित्रको हुटहुटी कम हुने जनाउनुभयो ।
उहाँको सन् २०२६ को वसन्त याममा सगरमाथा आरोहण गर्ने तयारी छ । उहाँलाई सघाउने पर्यटन व्यवसायी प्रभात अधिकारीले भन्नुभयो, “यदि क्यारोलिना संसारको सबभन्दा अग्लो शिखरमा चढ्न सक्नुभयो भने अपाङ्गता भएका जोकोहीले आफ्नो सपना पूरा गर्न सक्छन् भन्ने आत्मविश्वास उहाँलाई छ । त्यही अनुरूप उहाँ नेपाल आएर आरोहणको तयारी गरिरहनुभएको छ । हामी पनि उहाँको सपना साकार पारेर उहाँ जस्तै नागरिकको सपना साकार पार्ने अभियानमा छौँ ।”
पर्यटन विभागका अनुसार सन् २०२२ सम्ममा सात हजार २२६ जनाले आरोहण पूरा गरिसकेका छन् । सगरमाथामा विभिन्न कीर्तिमान कायम भएका छन्, जसमध्ये विश्वकै पहिलो महिला, नेपाली प्रथम महिला, फरक क्षमता भएका, दुवै खुट्टा गुमाएका, सगरमाथामा विवाह गर्ने जोडी, पाको उमेरकी महिला, उत्तर दक्षिण दुवै दिशाबाट आरोहण गर्ने महिला, सबैभन्दा ठुलो आरोहण दल, नेपाली प्रथम पत्रकार, सबैभन्दा पाको उमेर, बिनाअक्सिजन आरोहण, सगरमाथाको शिरबाट स्की, सगरमाथाको शिरमा २१ घण्टा, एचआइभी एड्सपीडित, सबैभन्दा छिटो र सबैभन्दा बढी पटक सगरमाथा आरोहण गरेर आरोहीहरूले कीर्तिमान राख्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









