11/06/2025, 20:28:28
बिहिबार, कार्तिक २१, २०८२

आन्दोलनलाई संस्थागत गर्न जेन-जी समूहलाई बाबुराम भट्टराईको सुझाव

अब यो अपुरो संविधानलाई पूरा गर्ने काम जेन-जीको हो - बाबुराम भट्टराई


काठमाडौँ, कात्तिक २० : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेन-जी समूहका प्रतिनिधिहरूलाई सुझाव दिनुभएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेन-जी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहनुभएका डा. भट्टराईले जेन-जी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।

यो रूपान्तरीत आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्”, उहाँले भन्नुभयो, “संस्थागत गर्नुभएन भने यो ऐतिहासिक आन्दोलन बिलाएर जाने खतरा छ ।

साथै उहाँले जेनजीका विभिन्न प्रश्नको जवाफ दिनुभएको थियो । पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अब यो अपुरो संविधानलाई पूरा गर्ने काम जेन-जीको हो ।

पार्टीका संयोजक दुर्गा सोबले विगतमा पार्टीले समाज सुहाउँदो मुद्दामा विचार विमर्श गर्दै आएको बताउँदै अब जेन-जी आन्दोलनले देखाएको रूपान्तरणकारी मार्गमासमेत सहकार्य गरेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखापर्ने बताउनुभयो ।

कार्यक्रममा सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल ऊर्जा, प्रदिप पाण्डे, माजिद अन्सारी लगायतका जेन-जी समूहका अगुवाले आफ्ना धारणा राखेका थिए ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..