सोमबार, पुष ०८, २०८१

विचार– एनपिएल क्रिकेट : बिर्सिन नसकिने प्रतियोगिता


काठमाडौँ, ७ पुस (रासस) : क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुको प्रत्यक्ष प्रसारणमार्फत विश्वका क्रिकेटप्रेमीहरुले सुन्दर हिमश्रृखङ्ला, रमणीय प्राकृतिक एवं सांस्कृतिक स्थलहरुको दृश्यावलोकन गर्दै क्रिकेट खेल हेर्ने अवसर पाएका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको एनपिएल क्रिकेट हेर्नका लागि पहिलो दिनदेखि नै उपस्थित भएका अपार जन समूहको क्रिकेट ‘क्रेज’ देखेर विश्वका क्रिकेटप्रेमीहरु चकित परेका छन् । नेपाल र विश्वको विभिन्न देशका क्रिकेट स्टारहरु सम्मिलित आठ वटा नेपाली टिमबीच भएको रोमाञ्चकारी प्रतिस्पर्धाले बिर्सिन नसकिने प्रतियोगिताको रुपमा एनपिएललाई स्थापित गरिदिएको छ । नेपालमा व्यावसायिक खेलको विकासका लागि महत्वपूर्ण जग बसाउन एनपिएल सफल भएको मानिएको छ ।

खेलमा भन्नै नसकिने

एनपिएल क्रिकेट प्रतियोगिताको प्रारम्भदेखि नै सुदूरपश्चिम रोयल्स टिमले सशक्त रुपमा दाबेदारी प्रस्तुत गर्दै अङ्क तालिकामा अग्रता कायम गर्दै आइरहेको थियो । टाइगर उपनामले परिचित नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम टिमले प्रत्येक म्याचमा बलिङ, ब्याटिङ तथा फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरुको मन जित्न सफल भएको थियो । विभिन्न देशका अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि सुदूरपश्चिमको अग्रतालाई अगाडि बढाउन महत्वपूर्ण खेलेका थिए । यस्तै सुदूरपश्चिमको पहिलो खेलदेखि नै अत्यधिक खेलप्रेमीहरु पनि देउडा र स्थानीय भाखा गाउँदै टिमको समर्थनमा उर्लिएका थिए । तर फाइनलको दिन अपेक्षित प्रदर्शन हुन सकेन । सुदूरपश्चिमले ब्याटिङ राम्रो गरे पनि बलिङ राम्रो गर्न नसकेको स्वयं कप्तान ऐरीले स्वीकारेका छन् ।

एनपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा जनकपुर बोल्टस टिमले सुदूरपश्चिम रोयल्स टिमलाई पाँच विकेटले पराजीत गरी उपाधि जित्न सफल भएको थियो । जनकपुर पनि प्रारम्भिक खेलदेखि नै सुदूरपश्चिमलाई अङ्क तालिकामा पछ्याउँदै थियो । एनपिएलको फाइनलमा जनकपुर र सुदूरपश्चिमबीच तेस्रो भिडन्त भएको थियो । जनकपुर यसअघि लिग र क्यालिफायर एकमा गरी दुईपटक सुदूरपश्चिम टिमसँग पराजीत भैसकेको थियो । पछिल्लो खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनलमा उच्च मनोबलका साथ प्रतिस्पर्धा गरेर उपाधि हात पार्न सफलता प्राप्त गरी विगतको पराजयको बदला लिन सफल भएको थियो । यसमा अतिथि खेलाडी लाहिरु मिलान्थाको सर्वाधिक ८७ रनको योगदान महत्वपूर्ण रह्यो । जनकपुर टिम लिग चरणमा पनि चितवन राइनोज टिमसँग पनि पराजित भएको थियो । तर पहिलो खेलमा नै विराटनगर किङ्सलाई आठ विकेटको अन्तरले पराजित गरी सशक्त उपस्थिति देखाएको जनकपुरले प्रतियोगिता अवधिभर कूल आठवटा जित हात पारेको थियो । फाइनलमा पराजित सुदूरपश्चिम टिमले भने फाइनलअघि एक खेलमा मात्र हार व्यहोरेको थियो । जितपछि प्रतिकृया दिँदै फाइनलमा जनकपुरका कप्तानको जिम्मेवारी सम्हालेका आशिफ शेखले जितको श्रेय आफ्नो टिमका सबै सदस्यहरुलाई दिने बताएका थिए ।

सर्वाधिक रकमको प्रतियोगिता

एनपिएल क्रिकेटका सहभागी आठ टिम खरिददेखि खेलाडी छनोट, प्रतियोगिता सञ्चालनसमेतका लागि विभिन्न व्यापारी र व्यापारिक प्रतिष्ठानले करोडौं रुपैंयाँ लगानी गरेका थिए । पुरस्कारका लागि समेत करोडौं रुपैंयाँ खर्च गरिएको छ । एनपिएल नेपालमा हालसम्म भएका खेलकुद प्रतियोगितामध्ये एनपिएल सर्वाधिक राशिको पुरस्कार भएको प्रतियोगिता बन्न सफल भएको छ ।

एनपिएलमा सर्वप्रथम भएको जनकपुर बोल्टस टिमले रु एक करोड १० लाख पुरस्कारसहित ट्रफी जितेको छ । यसैगरी दोस्रो हुने सुदूरपश्चिम रोयल्सले रु ५१ लाख पुरस्कार पाएको थियो । प्रतियोगितामा तेस्रो हुने कर्णाली याक्सले रु २५ लाख तथा चौंथो भएको चितवन राइनोजले रु १५ लाख पुरस्कार पाएको छ । यो प्रतियोगिताले खेलाडीलाई कार चढने अवसर प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भएका सुदूरपश्चिम टिमका कप्तान दिपेन्द्रसिंह ऐरीले करिब रु ६२ लाख मूल्य पर्ने चाइनिज कार पुरस्कार विजेता बनेका छन् । उनले प्रतियोगितामा अब्बल कप्तानको भूमिका निभाउँदै आफूले पनि कूल २२७ रन तथा नौ विकेट लिएका थिए । प्रतियोगिता अवधिभर कूल १७ विकेट लिन सफल ललित राजवंशीले उत्कृष्ट बलर पुरस्कार बापत मोटरबाइक हात पारेका छन् । यसबाहेक विभिन्न नेपाली तथा अतिथि खेलाडीहरुले नगद पुरस्कार प्राप्त गरेका थिए ।

‘म्याच फिक्सिङ’ ट¥र्यो

विभिन्न मुलुकमा बेलाबखत भएका क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’ भएको सुनिने गरिएको छ । यसपालि एनपिएलमा पनि मिलेमतोमा खेलेर ‘म्याच फिक्सिङ’ होला कि भनेर उच्च सतर्कता अपनाइएको थियो । यसका लागि सुरक्षा अधिकारीहरुलाई नै जिम्मा दिइएको थियो । शुरुमा सट्टेबाजीको आरोपमा केही व्यक्ति पक्राउ परेता पनि खेल क्रमिक रुपमा अघि बढ्दै जाँदा सुरक्षा सतर्कताको कारण त्यस्ता समस्या पुनः देखिएनन् ।

यसैगरी प्रतियोगिताको सहभागी आटवटै टिममा पनि सुरक्षा अधिकारीहरुलाई पनि सतर्कता गराइएको थियो । यस्तो अवस्था आएको भने अन्तर्राष्ट्रिय जगतमा मुलुककै बदनामी हुन सक्थ्यो । तर सहज रुपमै प्रतियोगिता सम्पन्न भएपछि आयोजकहरु ढुक्क भएका छन् । यस्तै प्रतियोगिता अवधिभरको सुरक्षा पनि सहज बनाउनु सम्बन्धित अधिकारीहरुको चुनौती रहेको थियो । एनपिएल प्रारम्भ भएको बेला टिकट किनेकाहरुले समेत रङ्गशालाभित्र प्रवेश नपाएर समस्या बनेको थियो । रङ्गशालाभित्र प्रवेश गर्नेक्रममा भएको हुलदंगामा किचिएर केही व्यक्ति घाइते समेत भएका थिए तर दिनहुँ खेलमा दर्शकहरुको उल्लेखनीय उपस्थिति भएता पनि पछि त्यस्ता समस्या दोहरिएन । फाइनलको सम्पूर्ण टिकट केही दिनअघि नै सकिए पनि सुरक्षाको दृष्टिले गम्भीर समस्या आइपरेन ।

शालीन दर्शक

एनपिएल क्रिकेटको शुरुदेखि अन्त्य सम्मका खेलहरुमा दर्शकहरुको उपस्थिति उल्लेख्य रह्यो । हाल जाडोको याममा पनि बिहान सबेरैदेखि दर्शकहरु कीर्तिपुर पुगेका थिए । विदाको दिनबाहेकका खेलहरुमा पनि दर्शकहरुको सहभागिता उल्लेख्य रहेको थियो । खेल हेर्न मानिसहरु नेपालका विभिन्न स्थानबाट समेत आएका थिए । चौरमा बसेर क्रिकेट हेर्न पनि दर्शकहरुले टिकट काटेका थिए ।

खेल अवधिभर दर्शकहरुले विभिन्न गीत गाएर, नाचेर खेलाडीहरुलाई उत्साहित बनाएका थिए । अझ फाइनलको दिन दशौं हजार दर्शकहरु उपस्थित भएता पनि कुनै अप्रिय घटना घटेन । जनकपुरले विजय हासिल गरेपछि गरिएको आतासबाजीको बेला दर्शकहरुले नाचगान गरी रमाइलो गरेका थिए । जनकपुर टिमका अमेरिकी ब्याटर लाहिरु मिलान्थाले सर्वाधिक २९३ रन बनाएबापत प्राप्त गरेको पुरस्कार दर्शकहरुलाई समर्पित गरेका थिए ।

कमेण्टेटर एन्ड्रको नेपाली मोह

अन्तर्राष्ट्रिय क्रिकेट कमेण्टेटर एन्ड्र लियोनार्ड एनपिएलको फाइनलको पुरस्कार वितरणका बेला नेपाली पोशाक लगाएर उदघोषण गर्दै थिए । उनले यसअघि पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली पोशाकमै प्रत्यक्ष प्रशारण गरिसकेका छन् । उनले विश्व चर्चित क्रिकेट स्टार ब्रायन लारालाई प्रत्यक्ष प्रशारणकै बेला नेपालको ढाका टोपी उपहार दिदैं दाइ भनी संवोधन गरेका थिए । उनी नेपालका शुभचिन्तक मानिन्छन् । उनले हरेक पटकको क्रिकेटमा नेपालको खेलको प्रत्यक्ष प्रसारण गर्दा विश्व मानचित्रमा नेपाललाई चिनाउने गरेका छन् । उनलाई यसपालि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानीत गर्नु भएको थियो । एनपिएलको ३२ वटै म्याचका सिलसिलामा एन्ड्रुलगायत अन्य अन्तर्राष्ट्रिय कमेण्टेटरहरुले नेपालको प्रबद्र्धन गर्न योगदान गरेका छन् । सबैजसो कमेण्टेटरले शुरुमा नेपाली भाषामा उद्घोषण गरेर नेपाली दर्शकहरुको मन जितेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिबद्धता

एनपिएल क्रिकेट हेर्न कीर्तिपुर रङ्गशालामा हजारौं मानिसको भिड लागेता पनि त्यहाँको भौतिक अवस्था सन्तोषजनक बनाउन सकिएको छैन । टिकट काटेर गएका दर्शकलाई बस्नका लागि उपयुक्त सिटको समेत व्यवस्था गर्न सकिएको छैन । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नु भएको छ । कीर्तिपुर क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको प्याराफिट निर्माण र फ्लडलाइट जडान कार्य तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै सम्पन्न गर्न जोड दिनुभएको छ । उहाँले काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको थियो । तर एनपिएलका बेला यो सम्भव हुन सकेन । प्रधानमन्त्री ओलीले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीसहित क्रिकेट खेलाडीहरूलाई बालुवाटारमै बोलाएर यसबारे छलफल पनि गर्नुभएको थियो । त्यसबेला विश्वस्तरीय रङ्गशाला नेपालमा आवश्यकता भएको कुरा उठेको थियो ।

क्यानका पदाधिकारीहरुले बरु अलि समय दिएरै विश्वस्तरको रङ्गशालाको राम्रो डिजाइन गरौंँ, हतार नगराँै भन्ने सल्लाह दिनुभएको थियो । तर जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले बढी समय लाग्ने नै भयो । यसबाट प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ हुन पुग्यो । गत शुक्रबारको कीर्तिपुरमा प्याराफिट निर्माण तथा फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको थियो । क्यानका सचिव पारस खडकाले आगामी वर्षको एनपिएल क्रिकेट प्रतियोगिता फ्लडलाइटमा राति पनि सञ्चालन गर्न सकिने अपेक्षा गर्नु भएको छ । क्रिकेट रङ्गशालालाई विश्वस्तरको बनाउने योजना त्यसपछि पनि जारी रहने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । खेल समापनका अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुको उपसस्थति रहेको थियो ।

अन्तमा,

एनपिएल क्रिकेट प्रतियोगिताको पहिलो संस्करणले नेपाली खेलाडीहरुलाई एउटै प्रतियोगिता खेलेबापत २० लाख रुपैंयाँसम्म पारिश्रमिक पाउने हैसियत बनाएको छ, त्यो अत्यन्त प्रशंशनीय छ । आगामी दिनमा उनीहरुको आयस्तर अझ बढाउँदै लैजानु पर्दछ । एनपिएल क्रिकेटले खेलाडी, खेलप्रेमी दर्शकहरुका साथै क्रिकेटमा लगानी गरेका व्यापारीहरुको समेत उत्साह बढाएको छ । यसलाई अझ स्तरीय बनाउँदै बिर्सिन नसकिने प्रतियोगिताको रुपमा निरन्तरता दिइनुपर्छ । त्यसका लागि अझ स्तरीय खेलाडीहरुलाई टिममा भित्र्याउन टिमहरुले विशेष ध्यान दिनुपर्छ । खेलाडी अक्सनका बेला देखाइएको सुझबुझको आधारमा नै यसपालि विभिन्न टिमले सफलता पाएको देखिएको छ । आगामी दिनमा खेलाडीहरुको अझ उत्कृष्ट प्रदर्शका लागि लगानीकर्ताहरुलाई पनि उत्साहित बनाउन क्यानले बढी जोड दिनु पर्दछ । लगानीकर्ताले पनि आगामी केही प्रतियोगितासम्म नाफाको अपेक्षा गरिनु हुन्न । यस्ता प्रतियोगितालाई राजधानी काठमाडौँमा मात्र केन्द्रित नगरी अन्य जिल्लामा पनि सञ्चालनका लागि सम्बन्धित सबैले सक्रियता जनाउनुपर्ने आवश्यकता महसुस गरिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading