महोत्तरी, २१ मङ्सिरः राम जानकी विवाह महोत्सवमा सहभागी हुन अयोध्याबाट आएका जन्तीले नेपाल–भारतबीच जनस्तरका सम्बन्धले प्रगाढ बनेको मैत्रीलाई जनताको उन्नतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । भारतीय अतिथिले दुवै देशबीचको सघन सांस्कृतिक सम्बन्धलाई विकासका माध्यमबाट अझ सुदृढ बनाउनुपर्ने अभिमत जाहेर गरेका छन् ।
‘हम आप के स्नेह से बधे हुए हैं, प्रेमका यह बन्धन अटुट है, सदियों से चलता आरहा है’ (हामी तपाईँहरूको स्नेहले जोडिएका छौँ, हाम्रो प्रेमपूर्ण सम्बन्ध अटुट छ, जुन सताप्दियौँदेखि चल्दै आएको छ) मटिहानीवासीको स्वागतबाट आल्हादित विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्रसिंह पङ्कजले ग्रहण गर्दै भन्नुभयो, “ यह कोइ सरकारी हस्ताक्षर से नहीं, जनता के दिलो से बने सम्बन्ध हैं, अब यह सम्बन्धको आधुनिक विकासके अवसर में पहुँचाना पडेगा” (यो कुनै सरकारका प्रतिनिधिबीचको हस्ताक्षरले होइन, जनताका हृदयबाट बनेको सम्बन्ध हो, अब यो सम्बन्धलाई आधुनिक विकासको चरणसम्म पुर्याउन पर्छ) जनमनबाट स्थापित सम्बन्धले प्रगाढ बनाएको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन पर्ने उहाँको भनाइ छ । जन्तीमा पङ्कजका अतिरिक्त अयोध्यास्थित श्रीराम जन्मभूमि क्षेत्र ट्रष्टका महासचिव चम्पत राय र अयोध्या नगर निगमका प्रमुख गिरिशपति त्रिपाठीसहितका उच्च पदस्थ व्यक्तित्वसमेत पाँच सय जनाको सहभागिता छ ।
नेपाल–भारतबीचको सदियौँदेखिको सम्बन्ध र आपसी सांस्कृतिक आदानप्रदान विश्वमा अद्वितीय रहेको अयोध्याकै सन्त सन्तोसदास वैष्णवको धारणा छ । “हम सदियों से रक्तीय सम्बन्ध से जुड्ते आए हैं, हमारी समान सांस्कृतिक परम्पराए हैं, वह हमे प्रेम के डोरी से बँधे रखते है” (हामीबीच सदियौँदेखि रक्तीय सम्बन्ध स्थापित छ, हाम्रा समान संस्कृति परम्परा छन्, यिनले सधैँ हामीलाई बलियो प्रेमको डोरीले बाँधिराखेका छन्) वैष्णव भन्नुहुन्छ, “जो आप नें हमें सम्मान दिया है, ए हमारी पुराने सम्बन्धोंका निरन्तरता है” (अहिले जो तपाईँहरूले सम्मान दिनुभएको छ, यो हामीबीचको पुरानो सम्बन्धको निरन्तरता हो) ।
आफूहरूप्रति नेपालीले दर्शाएका प्रेम र अपनत्व बिर्सन नसकिने किसिमको रहेको सबैजसो जन्तीको प्रतिक्रिया छ । नेपालीको स्नेह, सद्भाव र अहोभावको स्वागतले अर्को देश आएका छौँ भन्ने नपरेको भारतीय अतिथि बताउनुहुन्छ ।
“लगता नहीं जो दुसरे देश में है, सब जानेमाने जैसे है, कई सालो से सम्बन्धमे जुडे जैसे” (लाग्दैन, कुनै अन्य देशमा छौँ, सब कैयौँ वर्षदेखि सम्बन्धमा जोडिएर रहेको जस्तो महसुस छ) जन्तीमा सहभागी साध्वी मनोरमा भन्नुहुन्छ, “हम वृन्दावन से हैं, बारात में पहलीबार आइ हुँ, लेकिन ए लगता नहीं जो पहलीबार आइ हुँ । प्रेम जो मिल रहा है, सचमुच नेपाली विशाल हृदय के हैं” (म वृन्दावनकी हुँ, जन्ती भएर पहिलोपटक आएकी हुँ, तर म पहिलोपटक यहाँ आएकी हुँ भन्ने लागेन, प्रेम जो पाइरहेका छौँ, साँच्चै नेपाली विशाल हृदयका छन्) नेपाल प्रवेश गरेलगत्तै मटिहानी, जलेश्वर, पिपरा र अहिले जनकपुरमा पाएको स्नेहले अत्यन्त भावुक बनाएको उहाँ बताउनुहुन्छ ।
नेपाल–भारतबीचको यो जनमनको सम्बन्ध आपसी प्रेम र विश्वासले बनेको भारतीय अतिथिहरूको बुझाइ छ । यो सम्बन्धको जग श्रीराम जानकीको विवाह रहेको भारतीय अतिथि बताउनुहुन्छ । यद्यपि अब महोत्सव सम्बन्धलाई खास उत्सवसँग मात्र नभई विकास र जनताको उन्नतिसँग जोडिनपर्ने उहाँहरू सबैको धारणा छ ।
“हम अच्छे सम्बन्ध में हैं, और इसे प्रगाढ रखना है, इसके लिए हमें दोनो देशों के बीच राज्यस्तर पर भी विकास सम्भावनाओं पर खुली बातचित होनी चाहिए” (हामी राम्रो सम्बन्धमा छौँ र यसलाई अझ प्रगाढ बनाइराख्नु छ, यसका लागि दुवै देशका सरकारबीच विकास सम्भावनाबारे खुलाखुलस्त कुराकानी भइरहनुपर्छ) विश्व हिन्दू परिषद्ुका मन्त्री पङ्कज भन्नुहुन्छ, “दोनो देशों के सम्बद्ध अधिकारी इसपर विमर्श करते रहें” (दुवै देशका सम्बद्ध अधिकारीहरू यसबारे विमर्श गरिरहनोस्) ।
मटिहानी प्रवेशसँगै नगरप्रमुख हरिप्रसाद मण्डलसहितका नगरवासीको आत्मीय स्वागतले हर्षित भएको अयोध्याका सन्त रामशरणदास वैष्णव बताउनुहुन्छ । मङ्गलबार जनकपुर पुगेलगत्तै महोत्सवको धनुषयज्ञमा अतिथिहरू सहभागी हुनुभयो । यसैगरी बुधबार साँझ तिलकोत्सवमा सहभागी हुनुभएका भारतीय अतिथिलाई मधेश प्रदेश सरकारले बिहीबार प्रदेशको मुख्य प्रशासकीय केन्द्र मधेश भवनमा सम्मान गरेको छ ।
सप्ताहव्यापी महोत्सवको पाँचौँ दिन बिहीबार जानकी मन्दिर परिसरको विवाहमण्डपमा मैथिल परम्पराअनुसार विवाहको यज्ञवेदी निर्माण र कूलदेवता पुजनको ‘मटकोर’ विधि सम्पन्न भएको छ । आज छैटौँ दिन रङ्गभूमि मैदानमा स्वयंवर र राति जानकी मन्दिरको विवाहमण्डपमा शुभविवाह समारोह सम्पन्न हुनेछ । भोलि शनिबार रामकलेका विधिबीच जन्तीको बिदाइपछि यस वर्षको सप्ताहव्यापी महोत्सव समापन हुनेछ ।