उर्लाबारी, पुस १४ गते । पेवा खर्चेर भाडाको कोठामा ३५ जना महिला जम्मा गरेर तालिम । तालिमे महिला सिक्दै कमाउँदै, कमाइ पनि आकर्षक, मासिक न्यूनतम १५ हजारदेखि ३० हजार रुपियाँसम्म हुन्छ ।
संविधान सभा सदस्य उषा गुरुङले पेवाको सात लाख रुपियाँ पुँजी लगानी गरेर मोरङको लेटाङ–४ स्थित आफ्नो डेरा (भाडामा बसेको घरमा) सञ्चालन गरेको निःशुल्क हस्तकला सामग्री निर्माण तालिमको सार हो यो ।
गुरुङको उषा हस्तकला उद्योगमा काम सिक्दै कमाउँदै गर्ने महिलाले हाल मासिक न्यूनतम १५ हजारदेखि अधिकतम ३० हजार रुपियाँसम्म कमाइरहेका छन् । लेटाङ नगरपालिका क्षेत्रका एकल तथा विपन्न महिलालाई निजी खर्चमा छमहिने तालिम दिलाएर सोही जनशक्तिबाट उहाँले उद्योग सञ्चालन गर्नुभएको हो ।
तालिम लिएका महिलालाई स्वरोजगार बनाउने वा आफ्नो उद्योगमा रोजगार दिने उद्देश्यले उद्योग सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । काठमाडौँमा छँदा हस्तकला सम्बन्धी तालिम लिएकी संविधान सभा सदस्य गुरुङ आफैँ पनि सिक्दै सिकाउँदै गर्नुहुन्छ । दैलेख, गोरखा र हुम्लाबाट हस्तकला सिकाउने दक्ष प्रशिक्षक ल्याएर उहाँले महिलालाई तीन महिनाको तालिम उपलब्ध गराउनुभएको हो । उहाँले छ महिनाको तालिम भए पनि दुई दिनको कक्षा एक दिनमा सक्ने गरी तीन महिनामा तालिम सकेको बताउनुभयो । आफ्नो पेवा सात लाख रुपियाँ खर्च गरेर तालिम दिलाएको उहाँको भनाइ छ । प्रशिक्षक र तालिममा सहभागीलाई पारिश्रमिक र खाजा सबै आफैँले पेवा पैसाबाट बेहोरेको गुरुङले जानकारी दिनुभयो ।

गुरुङ लेटाङ–४ स्थित डेरामा बिहानदेखि साँझसम्म हस्तकलाका सामग्री निर्माण गर्न व्यस्त हुनुहुन्छ । हस्तकला उद्योगले खास गरी युरोप र अमेरिकामा उच्च माग भएका उनबाट बनेका फूल, चाबी झुन्ड्याउने रिङ, मानिस बस्ने सासाना राडी, गलैँचा निर्माण गरिरहेको छ । पछिल्लो आर्थिक वर्षदेखि नेपालबाट यस्ता सामग्री १४ अर्ब रुपियाँ बराबरको निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएको बुझेपछि हामी हस्तकला उद्योगतिर लागेको उहाँले बताउनुभयो ।
उषा (ह्यान्डीक्राफ्ट) हस्तकला उद्योगमा हाल लालमाया मगर, गोमा खतिवडा, जमुना थापामगर, रोश्ना राई, मन्जु रसाइलीले काम गरिहनुभएको छ । पूर्ण रूपमा दक्ष नभए पनि उहाँहरूले मासिक १५/१७ हजार रुपियाँ कमाइरहनुभएको छ ।
पूर्ण दक्षले मासिक ३०/३५ हजार कमाउन कुनै समस्या नरहेको सञ्चालक उषा गुरुङले बताउनुभयो । उहाँका अनुसार न्युजिल्यान्डबाट आयात हुने उनबाट बनेका हस्तकलाका सामग्रीको माग विश्वभर नै छ । अझ युरोपमा बढी माग भएकाले जति उत्पादन भए पनि बजारको अभाव छैन । उहाँले स्थानीय गाउँ÷नगरपालिकाले यस खाले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
– हरिप्रसाद कोइराला
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















