२७ मङ्सिर, काठमाडौँ : लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनीले ६ विकेटको विजय निकाल्यो ।
कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो ।
दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा ९ ओभरमै लक्ष्य पूरा गर्यो । लुम्बिनी पहिलो पटक विजेता बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो वर्ष फाइनलमा पराजित भएको हो । गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
लुम्बिनीले लगातार खेल ६ जित्दै उपाधि जितेको हो । यसका साथै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ । एनपीएल सिजन २ को सुरुआत सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो । तर सातौँ खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो । त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो ।
लुम्बिनीले लिगचरणको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको थियो । त्यसपछि टोलीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई क्वालिफायर २ मा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो । गत वर्ष पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको सहज निकालेको थियो । गत वर्ष लुम्बिनी ७ खेलमा ६ पराजय भोगी पुछारमा रहेको थियो ।
दिनेशले पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । दिनेश र डी’आरसी शटले ४ ओभरमै ५८ रन जोडेर लुम्बिनीलाई तुफानी सुरुआत दिलाएका थिए । शट १३ बल खेली १४ रनमा आउट भए । ३ चौका प्रहार गरेका उनलाई हेमन्त धामीले आउट गरे । हेमन्तले सोही ओभरमा दिनेशलाई पनि आउट गरे । दिनेशले १३ बलमै ४२ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे ।
रोहित १२ बलमा १६ रनन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गरेका थिए । निरोशान डिकवेला ११ रन बनाई अविजितत रहे । सन्दीप जोरा स्कोर बराबर भएको समयमा शून्यमा आउट भएपछि दीलिप नाथले विजयी रन प्रहार गरे ।
– विनोद पाण्डे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











