बनेपा, मङ्सिर २४ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्र बनाएको छ । सरकारले कात्तिक २१ देखि सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो ।
यातायात व्यवस्था विभागबाट सवारीचालक अनुमतिपत्र छपाइका लागि तथ्याङ्क (डाटा) उपलब्ध गराएसँगै केन्द्रले लाइसेन्स छपाइको कामलाई तीव्रता दिएको छ । सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले यातायात व्यवस्था विभागबाट केन्द्रले माग गरेको ढाँचा अनुसारको तथ्याङ्क पठाउने कामलाई तीव्रता दिएसँगै केन्द्रमा लाइसेन्स छपाइको कामले गति लिएको बताउनुभयो ।
तिमल्सिनाले भन्नुभयो, “यातायात व्यवस्था विभागबाट हालसम्म केन्द्रको ढाँचा अनुसारको छ हजार थान लाइसेन्स छपाइका लागि तथ्याङ्क आएकोमा हालसम्म केन्द्रले चार हजार ११९ थान लाइसेन्स छपाइ (प्रिन्ट) गरेर हस्तान्तरण गरिसकेको छ ।” उहाँले सोमबार केन्द्रमा एक हजार आठ सय थान लाइसेन्स छपाइ गरेको बताउँदै सोमबार छापिएका लाइसेन्स मङ्गलबार विभागलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
“विभागले वैदेशिक रोजगारीमा जाने लगायतका अत्यावश्यक लाइसेन्स छपाइका लागि भन्दै तथ्याङ्क पठाउँदै आएको छ, केन्द्रले हाल हप्तामा दुई दिन र आवश्यक परेको खण्डमा अरू दिन पनि लाइसेन्स छपाइको काम गर्दै आएको छ,” उपसचिव तिमल्सिनाले थप्नुभयो । उहाँले केन्द्रले मुद्रणसँग सम्बन्धित विभिन्न विधाका नौ जना इन्जिनियर नियुक्त गरी उनीहरूलाई तालिमका साथै लाइसेन्स छपाइको काममा लगाएको बताउनुभयो । उहाँले केन्द्रमा एक हजार थान लाइसेन्सको तथ्याङ्क आएपछि छपाइको काम गर्ने जनाउनुभयो । सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
केन्द्र र विभागबिच पहिलो तीन महिना केन्द्रले दैनिक पाँच सय वटा लाइसेन्स छाप्ने र बाँकी तीन महिनामा १२ लाखमध्ये बाँकी रहेका झन्डै साढे ११ लाख लाइसेन्स छपाइ गर्ने सहमति भएको हो । विभागले १२ लाख लाइसेन्स छपाइबापत केन्द्रलाई करिब २६ करोड रुपियाँ भुक्तानी गर्ने सहमति रहेको छ । केन्द्रले पहिलो चरणमा पेपर बेस्ड र कार्ड बेस्ड छापाखानाको काम गर्ने योजना अनुरूप तत्कालका लागि सवारीचालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो ।
सरकारले राहदानी, बैङ्क नोट लगायतका वस्तुको छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत देशमा आम्दानी गर्ने उद्देश्यले छापाखाना स्थापना गर्ने योजना अघि सारेको हो । सरकारले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यव्रmममा बजेट व्यवस्थापन गरेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) निर्माणको काम सुरु गरेको हो ।
सुरक्षण मुद्रण छापाखाना सञ्चालन भएपछि सुरक्षण मुद्रणको काममा विदेशी कम्पनीमा जाने अनुमानित १० अर्ब रुपियाँ स्वदेशमा नै लगानी हुने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत थप नेपाली १० अर्ब रुपियाँ राष्ट्रिय ढुकुटीमा सङ्कलन हुने अपेक्षा गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











