काठमाडौँ, मङ्सिर २१ : कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुखद अन्त्य गरेको छ । लिग चरणको अन्तिम खेलमा आइतबार कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले हरायो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि एक सय ३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो । जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रन बनाउनुभयो । यस्तै संगीत कोरेले २५, कप्तान जोन निकोल लफ्टी इटोनले १३ र माज सदाकतले १२ रन बनाउनुभयो । बलिङमा कर्णालीका विलियम वसिस्टोले दुई तथा मार्क वाट, पवन सरार्फ, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । वसिस्टो प्लेयर अफ दि म्याच बन्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । कर्णालीका लागि इमरन शेखले ३३ रन बनाउनुभयो । यस्तै गुल्शन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पान्चलले १६ र विलियम वसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाउनुभयो । बलिङमा जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई दुई तथा संगीत कोरे, माज सदाकत र अनिल शाहले एक एक विकेट लिनुभयो ।
प्लेअफको दौडबाट बाहिरिसकेका यी दुवै टोलीबिचको खेल प्रतिष्ठाका लागि थियो । जितसँगै सात खेलबाट चार अङ्क बनाएको कर्णालीले छैटौँ स्थानमा रह्यो । साविक विजेता जनकपुर दुई अङ्क जोड्दै अन्तिममा रह्यो ।
– गाेविन्द रेग्मी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















