काठमाडौँ, मङ्सिर २ गते । गत बिहीबार रुसको सरकारी विश्व समाचार च्यानल आरटीसँगको लिखित अन्तर्वार्तामा अपदस्त बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई सोधिएको प्रश्नमा उनले आफूलाई मृत्युदण्ड हुने सम्भावना खुलाएकी थिइन् । उनलाई सोधिएको प्रश्न थियो, ‘तपाईं अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)अन्तर्गत सम्भावित कडा सजाय सामना गर्दैहुनुहुन्छ । यो न्याय हो कि कानुनको नाममा बदला हो ?’
यसमा हसिनाले राजनीतिक पूर्वाग्रहको गन्ध जोडेर भनेकी थिइन्, ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणलाई मेरा राजनीतिक प्रतिद्धन्द्धीहरूले कङ्गारु अदालतमा रूपान्तरण गरेका छन् । उनीहरूले यसलाई मलाई र अवामी लिगलाई निकम्मा बनाउन दुरुप्रयोग गरिरहेका छन् । आईसीटीको फैसला पहिले नै लेखिएको छ र मृत्युदण्डको मागले उनीहरूको असुरक्षा र हिंस्रक मनसाय छरपस्ट पार्छ । संयुक्त राष्ट्र मानवअधिकार प्रमुख र ह्युमन राइट्स वाच दुवैले युनुसलाई मृत्युदण्ड नलगाउन आग्रह गरेका छन् । दुवै आग्रह बेवास्ता गरिएको छ ।’
हसिनाले भनेको ठीक चार दिनपछि त फैसला नै आयो । सोमबार ४५३ पेजको फैसला बंगलादेशको समयअनुसार १२ः१५ मा सुनाइएको थियो । फैसलाको प्रत्यक्ष प्रशारण गरिएको थियो । हसिनालाई हत्या तथा घातक हतियार प्रयोगको अधिकार दिएका विभिन्न पाँच कसुर देखाएर फाँसीको सजाय सुनाइएको थियो । न्यायाधीश गोलाम मोर्तुजा मोजुम्देरको नेतृत्वको तीन सदस्य न्यायाधीकरणको फैसलाले मृत्युदण्डको सजाय सुनाइएको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ । फैसलाको प्रत्यक्ष प्रशारण बंगलादेश टेलिभिजनले गरेको थियो । ठाउँ–ठाउँमा स्किृन राखेर फैसला सुनाइएको थियो ।
उनलाई र १५ महिनाअगाडि भएको विद्यार्थी आन्दोलनताका गृहमन्त्री आसादुजमन खान कमललाई मृत्युदण्डको फैसला सुनाइयो । प्रहरी प्रमुख चौधरी अबदुल्ला मामुमले दोष स्वीकार गरेको भन्दै पाँच वर्ष कैद राखिएको फैसला भयो । नझुक्किनुहोला भन्नमा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) भनिएता पनि त्यो अन्तर्राष्ट्रिय भने होइन । बंगलादेशको घरेलु न्यायिक मोर्चा हो । यसको विवाद जारी छ । भारतका विद्धान महेन्द्र पी. लामाले शिलापत्रसँग बोल्दै भनेका छन्, ‘यो न्यायाधीकरण बन्नुको उद्देश्य नै फाँसीको सजाय दिनु थियो ।’
फाँसीको सजाय सुनाइएपछि बंगलादेशका संस्थापकको घरमा डोजर लिएर पुगे विद्यार्थी
सोमबार बंगलादेशमा फाँसीको सजाय सुनाइएकी हसिनाका पिता शेख मुजिबर रहमानको निवास तथा बंगलादेशको संग्राहलयमा विद्यार्थीहरू डोजर लिएर पुगे । पाकिस्तानबाट बंगलादेशलाई छुटाएर स्वतन्त्रता दिलाउन नेतृत्व गरेका रहमानको घर भएको स्थान धनमन्दी ३२ हो । त्यहाँ प्रहरी र डोजरवाला विद्यार्थीको खेदाखेद भएका घटना सार्वजनिक भएका थिए । बंगलादेशी अखबार ढाका ट्रिब्युनका अनुसार डोजरवालाहरूले लाउड स्पिकरबाट ‘जसरी पनि घरमा डोजर लगाउने’ भन्दै आएका छन् । खासगरी इस्लामिक अतिवादी तथा हसिनाको निन्दा गर्नेले बंगलादेशका संस्थापक नेता रहमानको खेदो खन्दै आएका छन् । यसमा अहिलेको सरकार मूकदर्शक भएको आरोप लाग्ने गरेको छ ।
हसिनालाई दोहोरो दर्द
६ महिनाअगाडि गत मेमा बंगलादेशको अन्तरिम सरकारले अवामी लिगलाई प्रतिबन्द लगाएको थियो । अवामी लिगलाई सोझै प्रतिबन्ध नगरेता पनि उसका गतिविधिलाई प्रतिबन्ध गरिएको थियो । प्रतिबन्धको कारण पनि सानोतिनो थिएन, आतंकवादविरुद्धको ऐन टेकेर बन्द गरिएको हो ।
बंगलादेशमा रहेका इस्लामिक अतिवादी समूहलाई नगरिएको बन्द बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराउने दल अवामी लिगलाई बन्द गरिएबाट सरकारको दमन देखाउँछ । उसो त हसिनाले पनि दल बन्द नगरेकी होइनन् । उनले खालिदा जियालाई नजरबन्द राख्नेदेखि लिएर उनको दल बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)लाई प्रतिबन्दजस्तै गरेकी थिइन् । कुरा सन् २०१४ को हो । बीएनपीले बहिष्कार गरेका सन २०१८ र सन् २०२४ का चुनाव जित्दै हसिना लागालग प्रधानमन्त्री भइरहिन् । जनताबाट चुनिएकी उनी सडकबाट निर्वासित भएर भारत भाग्न बाध्य भइन् । उनी गत वर्षको ५ अगस्टमा भारत भासिएकी थिइन् ।
अवामी दलले प्रधानमन्त्रीको रुपमा शेख हसिनाको वक्तव्य सार्वजनिक गर्यो, के भनिएको छ ?
हसिनालाई मृत्युदण्डको फैसला सुनाइएपछि शेख हसिनाको वक्तव्य उनको दलबाट आएको छ । वक्तव्यमा हसिनालाई नेताको रुपमा नभएर प्रधानमन्त्रीको रुपमा चित्रित गरिएको छ । पत्रकारलाई थुनिएको, दललाई प्रतिबन्द गरिएको र चुनाव धकेलिइरहेको भन्दै निर्वाचनबाट नआएको युनुस सत्ता अवैध भएको टिप्पणी गरिएको छ । हसिनाले वक्तव्यमा राजनीतिक रुपमा प्रेरित फैसला आएकोले अर्थ नहुने पनि बताएकी छिन् । पाँच पेज लामो वक्तव्यमा हसिनाले सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका डाक्टर महोमद युनुसको कडा आलोचना गरेकी छिन् । यस्तै, हिन्दुलगायतका धार्मिक अल्पसंख्यकलाई ज्यादती गरिएको पनि हसिनाले लेखेकी छिन् ।
अहिलेका प्रधानमन्त्री युनुस पनि भ्रष्टाचार मुद्दामा परेका थिए
गत ५ अगस्टमा शेख हसिनाले देश छोडिन् । ६ अगस्टमा अन्तरिम सरकारका प्रधानमन्त्रीको रुपमा महोमद युनुस नियुक्त भए । उनलाई बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले ग्रामीण टेलिकमा कर्मचारीको मुनाफाको रकम हिनामिना गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
१२ जुनमा २५ करोड बंगलादेशको टाकाभन्दा धेरै रकमको भ्रष्टाचार गरेको कुसरमा मुद्दा परेपछि युनुस भागेर युरोप पुगेका थिए । तर, युरोपमा भएका युनुसलाई प्रधानमन्त्री नियुक्त गरिनुका साथ उनको मुद्दा हठात् फिर्ता भयो । अदालतले पनि उनलाई सफाइ दियो । र, उनले ८ अगस्टमा शपथ लिए ।
प्रधानमन्त्री नियुक्त भएर सफाइ पाएपछि बंगलादेशको अदालत र राजनीतिको निकट सम्बन्ध देखिन्छ । सायद यही भएर हुनुपर्छ सामबार हसिनाले आफ्नो विरोधमा बोल्दा अवामी लिगसँग नजिक भएका न्यायाधीश र वकिललाई निकाला गरिएको वा मुख बन्द गरिएको आरोप लगाएकी थिइन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















