11/16/2025, 14:09:39
आइतबार, कार्तिक ३०, २०८२
नेपाल प्रिमियर लिग

एनपीएलको दोस्रो संस्करणबाट ४० करोड आम्दानी गर्ने लक्ष्य


काठमाडौँ, कात्तिक ३० : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जुलाई अन्त्यमा नेपाललाई महिला ट्वान्टी–२० विश्वकप छनोटको अधिकार प्रदान गरेको थियो । त्यसअनुरुप जनवरी १२ देखि फेब्रुअरी २ सम्म हुने यो प्रतियोगिता नेपालले आयोजना गर्नुपर्ने हो ।

तर, देशको पछिल्लो स्थितिका कारण यो प्रतियोगिता के हुन्छ भन्ने अनिश्चित बनेको छ । सोमबार सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) ले त्यसको निर्क्योल गर्ने नेपाल क्रिकेट संघका सचिव पारस खड्का बताउँछन् । बंगलादेश, स्कटल्यान्ड, अमेरिका, थाइल्यान्ड, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, जिम्बावे र पपुवा न्युगिनीले यो छनोट प्रतियोगितामा सहभागिता जनाउने थिए ।

एनपीएल कसरी सञ्चालन हुन्छ, त्यसपछि मात्र नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्ने निश्चित हुन्छ । आईसीसीले एनपीएललाई पर्खिरहेको छ र हेरिरहेको छ । देशको पछिल्लो स्थितिका कारण यो स्थिति आएको हो,’ सचिव खड्काले भने, ‘एनपीएल भव्य रूपमा सफल भएमा नेपाल सामान्य अवस्थामा रहेको प्रमाणित हुन्छ र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नेपाल सक्षम छ भन्ने सन्देश जानेछ ।

एनपीएल सकिएपछि पुरुष ट्वान्टी–२० विश्वकप अगाडि टेस्ट राष्ट्रसँग खेल्ने घोषणा खड्काले जानकारी गराए । एनपीएलको दोस्रो संस्करणबाट क्यानले ४० करोड आम्दानी गर्न सक्ने कोषाध्यक्ष पदमबहादुर खड्का बताउँछन् । क्यानले प्रायोजक, टिकेटिङ, ओटीटी तथा ब्रोडकास्टिङ प्रसारण अधिकारबाट ४० करोड हाराहारीमा आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ४० लाख, ८ फ्रेन्चाइज टिमका नवीकरण शुल्कबाट ९ करोड, ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख प्राप्त हुनेछ ।

ओटीटीको ७१ प्रतिशत क्यानले पाउनेछ । स्थानीय टेलिभिजन टेलिभिजनबाट १ करोड तथा टिकट बिक्रीबाट ८ देखि १२ करोड आम्दानी हुने क्यानको भनाइ छ । ओटीटी सवक्रिब्सन गर्न ३ सय रुपैयाँ लाग्ने छ । ओटीटी र स्टार स्पोर्ट्स क्लिनफिडमा आउने छ । नेपाली टेलिभिजन च्यानलमा भने विज्ञापन बज्ने छ । पुनर्निर्माणपछि त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरको दर्शकक्षमता ९ हजार ४ सय ५० पुर्‍याएको छ । हरेक दिन यति संख्यामात्र टिकट बिक्री गर्ने सचिव खड्काले बताए । क्यानले एनपिएल दौरान यदि कसैको विरोध कार्यक्रम भए काठमाडौं बाहिर गरिदिन पनि आग्रह गरेको छ ।

पुरस्कार राशि भने यथावत राखिएको छ । पहिलो संस्कणको विजेता जनकपुर बोल्ट्सले १ करोड ११ लाख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाएको थियो । तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख प्राप्त गरेका थिए ।

नेपाली क्रिकेट पहिलो पटक फ्लडलाइटमा खेलाइन लागेको छ, त्यसको तयारी पूरा भएको क्यानले जनाएको छ । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले सोमबार पहिलो खेलमा काठमान्डु गोर्खाजको सामना गर्नेछ ।