10/27/2025, 16:22:14
सोमबार, कार्तिक ११, २०८२

निर्वाचन भाँड्ने प्रयास नगर्न स्वास्थ्यमन्त्री गौतमको आग्रह


काठमाडौँ, कात्तिक १० गते ।नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो । सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको मन्त्री गौतमको भनाइ छ ।

उहाँले घाइते बिरामीले आफूलाई अस्पतालको विकृति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालको सुधारमा लागिपर्ने प्रतिवद्धता गर्नुभयो ।

मन्त्री गौतमले भन्नुभयो, ‘‘बिरामीहरुको अवस्था हेर्दा निकै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ उहाँलाई त्यसो नगर्नुस् भनेर अनुरोध गर्न चाहन्छु । हाम्रो जन आन्दोलनको मर्म के थियो भने यी विकृति र बेथिति हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म पारदर्शिता ढङ्गले देखाउनेछु  ।’’

मन्त्री गौतमले काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो । त्यस क्रममा उहाँले अस्पतालले घाइतेका उपचारमा कुनै कमी नगरेको बताउनुभयो ।

सोही क्रममा मन्त्री गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बलिदान खेर जान दिन नहुने जीकिर गर्नुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..