10/26/2025, 14:24:38
आइतबार, कार्तिक १०, २०८२

निरन्तर छलफलमा प्रधानमन्त्री, संवादबाटै निकास खोजौँ


काठमाडौँ, कात्तिक ९ : प्रधानमन्त्री सुशीला कार्कीले देशको सुरक्षा र निर्वाचन तयारीका सन्दर्भमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न उच्चस्तरीय सुरक्षा बैठकमा समग्र सुरक्षा स्थितिसँगै आन्दोलन घोषणा गरेका समूहका सन्दर्भमा पनि विश्लेषण भएको छ । प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चार वटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्था र सम्बन्धित निकायको तयारीबारे जिज्ञासा राख्नुभयो । भदौ २३ र २४ गतेको जेन-जी विद्रोहपछि पनि केही समूहले सडक प्रदर्शनमा उत्रिने बताइरहँदा सरकारले सुरक्षा व्यवस्थाका सन्दर्भमा संवेदनशील ढङ्गले छलफल गरिएको छ ।

जेन-जी आन्दोलनका माग सम्बोधन गर्दै सुशासन कायम गरेर फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नुपर्ने ऐतिहासिक दायित्वबिच सुरक्षा अवस्था दृष्टिगत गरेर प्रधानमन्त्रीले सम्बन्धित सबै संयन्त्रसँग ब्रिफिङ लिनुभएको छ । बैठकपछि गृहमन्त्री अर्यालले देशको सुरक्षा अवस्थामा सूक्ष्म विश्लेषण भएको जानकारी दिनुभयो । उहाँले स्थिति सामान्यीकरण गर्ने र निर्वाचनको वातावरण बनाउनका लागि चाहिने सुरक्षा र सुरक्षाको प्रत्याभूति दिने कुरामै सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक प्रदर्शनसँग सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक प्रदर्शनबाट निम्त्याइने सुरक्षा जोखिमबारे गहन छलफल भएको छ । जसका पनि राजनीतिक माग छन् भने सरकारले संवादकै माध्यमबाट सम्बोधन गर्ने छ । सरकारले ती माग सुन्छ ।

बैठकमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी हुनुहुन्थ्यो ।

संवादबाटै निकास

छठ पर्वपछि आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा विभिन्न समूहले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने कोसिस गरिरहँदा सरकारले संवादलाई जोड दिएको छ । गृहमन्त्री अर्यालले वार्ता र सहमतिकै माध्यमबाट राजनीतिक माग राख्न आग्रह गर्नुभयो । उहाँले सडकमा जानु पनि सरकारलाई संवादबाट अपिल गरिएको बताउँदै सडकमै नगई संवाद गर्न सकिएमा सडकमा गइराख्न नपर्ने प्रस्ट पार्नुभयो ।

उहाँले राजनीतिक शक्तिले राजनीतिक व्यवहार र संस्कार देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा जानैपर्ने स्थिति बनेमा लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन हुनु पनि भएन । सार्वजनिक सम्पत्तिमा क्षति पनि हुनु भएन । निजी सम्पत्तिमा क्षति पु¥याउनु पनि भएन । हिंसा हुनु भएन । यो कुरा विभिन्न राजनीतिक समूहलाई आग्रह गरिरहेका छौँ ।

गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले सबै पक्षका जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउनेसमेतका हक अधिकार कुण्ठित हुन नदिन आग्रह गर्नुभएको हो । उहाँले सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हित प्रवर्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध गर्नुभएको छ ।

गृह मन्त्रालयले जेन-जी आन्दोलनपछि सार्वजनिक सेवा पुनः सुचारु भएको र क्षतिग्रस्त संरचना पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याएर निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गरेको बताएको छ ।

मन्त्रालयले अहिले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकसमेत सचेत हुनुपर्ने देखिन्छ ।

निरन्तर संवादमा प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्की निरन्तर संवादमा हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलका आह्वानमा विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँगको संवादपछि पनि प्रधानमन्त्री कार्कीले संवाद र परामर्श जारी राख्नुभएको हो । उहाँले गत मङ्गलबार जेन-जी आन्दोलनका मुद्दा सम्बोधन गर्ने, निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्दै भ्रष्टाचारका सन्दर्भमा उठेका विषयलाई कानुनी दायरामा ल्याउने विषयमा दलहरूसँग छलफल गर्नुभयो । सर्वदलीय बैठकमा निर्वाचनको माहोल बनाउन सरकार, राजनीतिक दल, जेनजी पुस्तासहित सबैको सहभागिता सुनिश्चित हुनुपर्ने विषयमा छलफल भयो ।

छलफलमा मन्त्रीहरूसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी थिए ।

कलाकारसँग पनि संवाद

प्रधानमन्त्री कार्कीले नेपाली कला क्षेत्रका अगुवासँग पनि संवाद गर्नुभयो । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “संवादका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएका छन् । मुलुकको अवस्था र सरकारका कामबारे उहाँहरूले व्यक्त गर्नुभएको गहिरो चासो, चिन्ता र सरोकारले सरकारलाई थप आत्मबल मिलेको छ । जेन-जी आन्दोलनको भावना र कार्यादेशमा हामी स्पष्ट छौँ ।

होटल हायातबारे चासो

पाँचतारे होटल हायात रिजेन्सी व्यवस्थापनले होटलको सेवा बन्द गरेकोमा सरकारले चासो लिँदै होटल सुचारु गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले यो विषयमा चासो राखेपछि अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनसँग छलफल गरी आवश्यक सहजीकरण सरकारले गर्ने बताउनुभएको हो ।

होटल व्यवस्थापनले जेन-जी आन्दोलनका क्रममा होटलमा तोडफोड भएको र सुरक्षाजन्य संवेदनशीलता पनि रहेका कारण होटल अनिश्चितकालका लागि बन्द भएको सूचना जारी गरेको थियो ।

– अशाेक अधिकारी