काठमाडौँ, असोज ३१ : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले जितका लागि सामोआलाई दुई सय १२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकटको क्षतिमा दुई सय ११ रन बनायो ।
नेपालका लागि ओपनर आशिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६९ रन बनाउनुभएका आशिफले ४१ बलमा सात चौका र चार छक्का हान्नुभयो । यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाउनुभयो । यस्तै लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१, कुशल भुर्तेलले १७ र आरिफ शेहले नौ रन बनाउनुभयो । बलिङमा सामोआका सौमानी ताई, डारियस भिसर, नोह मेड र डेनियस वर्गले एक एक विकेट लिनुभयो ।
नेपालले सुपर सिक्सको दुई खेल अगावै छनोट यात्रा तय गरेको नेपालले आज सामोआलाई हराएमा शीर्षस्थानमा रहँदै छनोट खेलको ट्रफी जित्नेछ । नेपाल यस प्रतियोगितामा समूह चरणदेखि नै अपराजित रहेको छ । नेपाल सोही लयलाई कायम राख्दै छनोटको पहिलो उपाधि जित्ने अभियानमा छ । यता सामोआ सुपर सिक्समा सान्त्वना जित निकाल्दै छनोट यात्रा सुखद् अन्त्य गर्न चाहन्छ ।