01/16/2026, 17:23:48
शुक्रबार, माघ ०२, २०८२

“कुनै दलले आफ्नो विधान कार्यान्वयन गर्दैन भने त्यो कानुन उल्लंघन हुन्छ”


काठमाडौँ, माघ २ : कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले नेतृत्व बदलेकाले त्यसको अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताएका छन् ।

आयोगमा भएको छलफलमा उनले कांग्रेस विधान उल्लेख गर्दै विधान अनुसार नै विशेष महाधिवेशन भएको प्रस्ट्याए ।

विशेष महाधिवेशन आयोजना गर्दा कारबाहीको विषय आएकै थिएन । जतिबेला उहाँहरुले कारबाही गर्नुभयो त्यसबैला हामी महामन्त्री नै थिएनौं । केन्द्रीय कार्यसमिति विघटन भइसकेको थियो,’ उनले भने । ५४.५८ प्रतिशत प्रतिनिधिले असोजमा विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गरेको पनि उनले स्मरण गराए ।

उपसभापति शर्माले नियमित महाधिशेनको कार्यतालिका अव्यावहारिक भएकाले नै दुवै महामन्त्रीले असहमति जनाएको बताए ।

कांग्रेस विधानले केन्द्रीय समिति र केन्द्रीय कार्यसमितको कार्यालय पनि हुन्छ भनेको छ । केन्द्रीय कार्यालय महामन्त्री मातहत रहन्छ भनेको छ । विधान अनुसार कुनै दलले आफ्नो विधान कार्यान्वयन गर्दैन भने त्यो कानुन उल्लंघन हुन्छ,’ उनले भने ।

विशेष महाधिवेशन प्रतिनिधिमध्य २९ जनाले मात्रै हस्तक्षर फिर्ता गरेको उनले बताए ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको टोली आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा पुगेको हो । यसअघि सभापति शेरबहादुर देउवा पक्ष पनि पुगेको थियो ।

शुक्रबार बिहान कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।

थापा पक्षले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।