काठमाडौँ, २९ असोज : गत भदौमा प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी गरिएसँगै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिने प्रक्रिया अहिले ठप्प छ । आगजनीबाट २२ हजारमध्ये १८ हजार छपाइ भएर बसेका लाइसेन्स जलेको विभागको अनुमान छ । यसमध्ये ३ हजार लाइसेन्स मात्र सुरक्षित भेटिएको छ ।
लाइसेन्स छपाइ गर्न ल्याइएका करिब ६ लाख कार्ड सुरक्षित फेला परे पनि त्यो कार्डमा लाइसेन्स छपाइ गर्न मिल्ने/नमिल्ने प्रिन्टर नहुँदा जाँच हुन सकेको छैन । विभागको प्रणाली (सिस्टम) नचल्दासम्म कति लाइसेन्स छपाइ भएर बसेका थिए भन्ने यकिन नहुने विभागका निर्देशक केशव खतिवडा बताउँछन् । प्रदर्शनमा हराएका र जलेका लाइसेन्सबारे के गर्ने भन्नेबारे अहिलेसम्म विभाग प्रष्ट भइसकेको छैन । यसबारे पाँच प्रश्नोत्तरमा सम्पूर्ण विवरण बुझ्नुहोस्।
प्रदर्शनका क्रममा हराएका र जलेका लाइसेन्स फेरि कसरी दिइँदै छ ?
विभागमा जलेका र हराएका लाइसेन्सको हकमा प्रणाली सञ्चालनमा आएपछि के कति छपाइ भएको थियो भनेर देखाउने छ । प्रणालीमा देखाइसकेपछि त्यहीअनुसार क्षतिबारे यकिन हुने निर्देशक खतिवडा सुनाउँछन् । ‘जसमा केही भेटिएका छन्, त्यसलाई वितरण गरेर बाँकी हराएका र जलेका लाइसेन्सको हकमा प्रदेश मन्त्रालयहरुसंग समन्वय गर्छौ,’ उनले भने,‘ त्यसपछि छलफल गरेर यसलाई टुङ्ग्याउनेतर्फ लाग्छौँ ।’
प्रणाली चलेपछि कुन मितिमा कति लाइसेन्स छपाइ भएको थियो ? थाहा हुने भएकाले त्यहीअनुसार क्षतिको यकिन हुने उनको भनाइ छ । विभागको डेटा सेन्टर पनि प्रदर्शनका क्रममा आगलागीबाट ध्वस्त भएको छ । विभिन्न यातायात कार्यालयमा पठाउन तयारी अवस्थामा राखिएका लाइसेन्स आगलागीबाट नष्ट भएका छन् ।
विभागबाट दुई किसिमका लाइसेन्स छपाइ हुँदै आएको थियो । विदेश जानेको हकमा निवेदन दिएको २४ घण्टामा लाइसेन्स छापेर दिइन्थ्यो । अन्य समयमा आवेदन दिएर बसेका २५ लाख सेवाग्राहीलाई आवश्यकता अनुसार छपाइ गरेर दिइने गरिएको थियो । अहिले यो दुवै सेवा ठप्प छन् । पुरानो लाइसेन्स छपाइ टुङ्ग्याउनेबारे पनि विभागले छलफल चलाइरहेको र तिहारपछि केही निकास निकालिने जनाइएको छ ।
छपाइ हुन बाँकी २५ लाख लाइसेन्सको हकमा अब के हुन्छ ?
विभागमा रहेको लाइसेन्स छपाइ गर्ने प्रिन्टर जलेर नष्ट भएको छ । तत्काल लाइसेन्स छपाइ गर्न मेशिन नभएको निर्देशक खतिवडाले बताए । उनका अनुसार नयाँ प्रिन्टरका लागि टेन्डर गर्ने वा कुनै दातृ निकायसँग उपलब्ध गराइदिन आग्रह गर्ने कि भन्नेबारे पटक–पटक विभागमा छलफल भएको छ । छिटो सेवा दिनु पर्ने भएकाले मेशिन पनि छिटो चाहिएकाले तिहार पछि प्रिन्टरको व्यवस्था गर्ने पक्षमा लागिएको विभागले जनाएको छ ।
प्रिन्टर आउनसाथ सबै पुरानो लाइसेन्स छपाइ गरेर वितरण गरिने उनले सुनाए । प्रिन्टर आए पनि सुरक्षण मुद्रण केन्द्रसँग पनि छपाइका लागि सम्झौता गरिएकाले कात्तिक १४ गतेदेखि छापेर दिने कुरा भएको उनको भनाइ छ । यसका लागि बुधवार केन्द्रसँग सम्झौता गरिँदै छ । विभागमा मात्र होइन, कतिपयको सवारी नियम उल्लङ्घन गर्नेक्रममा लाइसेन्स ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ती लाइसेन्स पनि ट्राफिक प्रहरी कार्यालयहरूमा आगलागीका क्रममा जलेर नष्ट भएका छन् ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिने क्रममा जलेका लाइसेन्सबारे के गरिँदैछ ?
जलेका लाइसेन्सबारे ट्राफिक प्रहरीले मुचुल्का तयार पार्ने काम गरिरहेको छ । कति क्षति भएको छ भनेर ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागलाई जानकारी गराउने छ । त्यसपछि कति लाइसेन्स क्षति भए भन्नेबारे थप छलफल गरिने विभागका निर्देशक खतिवडाले बताए । उनका अनुसार त्यसपछि प्रदेश मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुसंग यस्ता लाइसेन्स पुनः छपाइ गरेर दिनका लागि राजश्वलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफलको तयारी भइरहेको छ । अहिले २५ लाख सेवाग्राहीले नवीकरण र नयाँ लाइसेन्स कालागि राजस्व तिरेको चिट कटो बोकेर हिँड्न बाध्य छन् । वर्षौँ बित्दा पनि लाइसेन्स हात पार्न सकेका छैनन् ।
राजस्व तिरेर वर्षौँदेखि रसिद बोकेर बसेकाहरूले कहिले लाइसेन्स पाउँलान् ?
विभागका अनुसार २५ लाख सेवाग्राहीले लाइसेन्स पाउन बाँकी छ । यसका लागि तत्काल टेन्डर गरेर प्रिन्टर ल्याउने वा दातृ निकायसँग मागेर वा कुनै उपाय लगाएर प्रिन्टर खरिद गर्ने भन्नेबारे ठुँगिसकेको छैन । तर, तिहार अघि यो सबै कुरा टुङ्ग्याएर कात्तिक भित्र छपाइको काम सुरु गरिसकिने निर्देशक खतिवडाले बताए ।
सुरक्षण मुद्रण केन्द्रसँग गत जेठ ९ गते पहिलो चरण र बुधवार दोस्रो चरणमा लाइसेन्स छाप्नेबारे समझदारी पत्रमा हस्ताक्षर गरिने उनले सुनाए । यता फेरी नागरिक एपमा लाइसेन्स देखाउँदैन । जसले गर्दा लाइसेन्स जलेका, हराएकाहरूले ट्राफिक प्रहरीले चेकजाँच गर्दा देखाउन पाएका छैनन् ।
नागरिक एपमा लाइसेन्स कहिलेबाट देखाउँछ ?
विभागको डेटा सेन्टर नै आगलागीबाट ध्वस्त बनेको छ । अहिले प्रणाली नचल्दा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने सबै काम प्रभावित बनेको छ । यसकालागि डेटा सेन्टर सञ्चालनमा ल्याउनु पर्ने र त्यसका लागि काम भइरहेको निर्देशक खतिवडाले बताए । तिहार र छठको बिचमा प्रणाली सञ्चालनमा ल्याइने दाबी उनको छ ।
जुन सञ्चालनमा आएपछि नागरिक एपमा लाइसेन्स देखाउने छ । त्यसपछि सबै यातायात व्यवस्था कार्यालयहरूबाट नयाँ लाइसेन्स लिने र समय सकिएकाको नवीकरण गर्ने सेवा सुरु हुने उनले बताए । तर, अहिले प्रणाली नचल्दा ४२ वटा यातायात व्यवस्था कार्यालयहरूमा लाइसेन्ससम्बन्धी सबै सेवा ठप्प छ ।
– विमल खतिवडा