10/08/2025, 22:27:07
बुधबार, असोज २२, २०८२

एमालेद्वारा मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता


जनकपुरधाम, असोज २२ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बुधबार जनमत पार्टीका नेता तथा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले औपचारिक निर्णय गर्दै जनमत नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो ।

यसअघि जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई पार्टीमा फिर्ता बोलाउँदै स्पष्टीकरण सोधेको थियो । पार्टीले स्पष्टीकरण नदिए कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।

मुख्यमन्त्री सिंहले गत भदौमा ‘जेन-जी आन्दोलन’ का क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि पछि पुनः पदमा यथावत् रहनुभयो । त्यसयता पार्टीभित्र असन्तुष्टि बढ्दै गएको थियो । सिंहलाई आफ्नै पार्टी जनमतले समर्थन नदिएपछि नेपाली कांग्रेसले पनि अघिल्लो हप्तामै आफ्नो समर्थन फिर्ता लिएको थियो ।

यता प्रदेश प्रमुख कार्यालयका अनुसार एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताबारे आधिकारिक पत्र इमेलमार्फत पठाएको छ ।

– लक्ष्मी चौधरी