10/08/2025, 17:11:18
बुधबार, असोज २२, २०८२

औषधी व्यवस्था विभागको चेतावनी – दर्ता बिनाको ‘कोल्डरिफ कफ सिरफ’ नकिनौ


काठमाडौं । भारतका विभिन्न राज्यमा खोकीको औषधी (कोल्डरिफ कफ सिरफ) प्रयोगपछि बालबालिकाको मृत्यु भएको घटनामा नेपाल औषधी व्यवस्था विभागले ध्यानाकर्षण गराएको छ । भारतको स्रेसन फर्माले उत्पादन गरेको कोल्डरिफ कफ सिरफको प्रयोगले भारतमा १८ बालबालिकाको मृत्यु भएको छ ।

विभागले भारतको स्रेसन फर्माले उत्पादन गरेको कोल्डरिफ कफ र अन्य औषधी नेपालको औषधी विभागमा दर्ता नभएको भन्दै दर्ता बिनाका यस्ता औषधी नकिन्न आग्रह गरेको छ । भारतमा विगतमा पनि यस्ता घटना हुँदै आएको स्मरण गर्दै विभागले औषधी किन्दा ध्यान दिनुपर्ने बताएको छ ।

औषधी व्यवस्था विभागले नेपालमा झोल बनावटको औषधी उत्पादनत तथा आयात गर्ने सबै उद्योगलाई आफ्ना उत्पादनमा प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोललगायतका रासायनिक पदार्थहरू प्रयोग गरिएका कफ सिरफ र अन्य औषधिहरूमा इथाइलिन ग्लाइकल  र डायथाइलिन ग्लाइकल नामक हानिकारक तत्वको मात्रा परीक्षण गरी मात्र सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने भन्दै उत्पादकहरुलाई समेत आग्रह गरेको छ ।

विभागले भनेको छ, ‘हामीले औषधीमा प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोललगायतका रासायनिक पदार्थहरू मिसावट भए नभएको आवश्यक परीक्षण गर्न भन्दै २०७९ सालमा सूचना निकालेका थियौं, त्यसपछि यो वर्षको साउनमा पनि सूचना निकालेका थियौं, फेरि पनि सचेत रहन अनुरोध गर्दछौं ।’

विभागले औषधी उत्पादकका लागि कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरूबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्नुपर्ने, कच्चा पदार्थ तथा समिश्रित झोल बनावटको औषधीको निर्धारित विधी बमोजिम प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकलको परीक्षण गरे पश्चिात मात्र उत्पादन तथा बिक्रीवितरण गर्नुपर्ने बताएको छ ।

यस्तै औषधी आयातकर्ताका लागि आयात हुने कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधीको प्रत्येक ब्याचको प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकलको मिसावट नभएको सुनिश्चितगरे पश्चातमात्र आयता तथा विक्री वितरण गर्नुपर्ने भनेको छ भने फार्मेसीका लागि विभागमा दर्ता भएका औषधीमात्र बिक्रीवितरण गर्न भनेको छ ।

विभागले चिकित्सकहरूलाई औषधी प्रस्क्राइब गर्दा पनि विभागमा दर्ताभएका मात्र गर्न,दुई वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधी सिफारिस  गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र सिफारिस गर्न आग्रह गरेको छ ।  विभागले सर्वसाधारणलाई पनि चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्न, विभागमा दर्ता भएका औषधीमात्र खुवाउन र औषधीको लेबलमा उल्लेखित जानकारी बमोजिम मात्र प्रयोग गर्न भनेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..