२० असोज, काठमाडौं : रेस्लिङ दुनियाँका चर्चित रेस्लर हल्क हागनले गत महिना धर्र्तीबाट बिदा लिए । ७१ वर्षका हल्कको जुलाई २४ मा अमेरिकाको फ्लोरिडामा निधन भएको थियो । हल्क त्यही नाम हो जसले सन् १९८० को दशकमा रेस्लिङको दुनियाँमा हल्लीखल्ली मच्चाएको थियो ।
कमिक बुकका पात्रमा आधारित सिबिएस टेलिभिजनको कार्यक्रम ‘दी इन्क्रेडिबल हल्क’ सँग तुलना गरिएकै कारण उनलाई हल्क नामबाट चिनियो । हेर्दा विशाल शरीर देखिने काल्पनिक पात्रसँग तुलना गरिएका व्यक्तिको वास्तविक नाम भने टेरी जिन बोल्लिया हो । उनको जन्म सन् १९५३ अगस्त ११ मा अमेरिकाको जर्जिया राज्यमा भएको थियो ।
हल्कका सुरुवाती दिन
सन् १९८५ मा हल्क पहिलो रेसलमेनियाका मुख्य आकर्षण बने । जहाँ उनले सन् १९८० को दशकका टिभी स्टार मिस्टर टीसँग टिम बनाएर रडी पाइपर र पल ओर्नडोर्फको सामना गरेका थिए । म्याडिसन स्क्वायर गार्डेनमा भएको रेसलमेनिया–१ लाई करिब १० लाख दर्शकले क्लोज्ड सर्किट टेलिभिजनमार्फत हेरे । रेसलमेनिया रेस्लिङ खेलका पारखीलाई महापर्व मानिन्छ । यसले तत्कालीन डब्लुडब्लुएफलाई चर्चाको शिखरमा पु¥यायो ।
हल्क त्यही व्यक्ति थिए जसले रेसलमेनिया–३ मा २३५ केजी तौलका प्रतिद्वन्द्वी आन्द्रे दी जायन्टलाई करिब ९३ हजार दर्शकका अगाडि रिङमा पछारेका थिए । सन् १९८७ को यस जितले उनलाई झनै चर्चित बनाएको थियो ।
यसै कारण पनि उनी वर्षौंसम्म रेस्लिङ जगत्का प्रमुख व्यक्तित्व रहे । आन्द्रे दी जायन्ट, ¥यान्डी स्याभेज, दी रक र डब्लुडब्लुईका सहसंस्थापक भिन्स म्याकमहोनसम्म सबैसँग उनी भिडेका थिए ।
हल्कले सन् १९९३ मा डब्लुडब्लुएफ छोडे र सन् १९९४ मा डब्लुडब्लुएफकै प्रतिद्वन्द्वी डब्लुसिडब्लुमा आबद्ध भए । डब्लुसिडब्लुले डब्लुडब्लुएफसँग अमेरिकामा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न खोजिरहेको बेला थियो त्यो । यसका साथै हल्क टोटल ननस्टप एक्सन ९त्ल्ब्०, न्यु जापान प्रो रेस्लिङ ९ल्व्एध्० मा पनि आबद्ध भएका थिए ।
हल्कले डब्लुडब्लुएफ विश्व हेभिवेट च्याम्पियनसिप छ पटक जिते । जसमा उपाधिमाथि उनको लगातार एक हजार ४७४ दिनको एकल स्वामित्व पनि समावेश छ । हल्कलाई सन् २००५ मा डब्लुडब्लुईले प्रतिष्ठित मानिने हल अफ फेम सूचीमा समावेश गरेको थियो ।
हल अफ फेमबाट निष्कासन
सन् २०१५ मा डब्लुडब्लुईले उनीसँग भएका सबै सम्झौता खारेज ग¥यो । उनलाई हल अफ फेमबाट समेत हटायो । यो त्यतिबेला थियो जब उनले अश्वेत जातिका बारेमा नस्लीय अपमानजनक शब्द प्रयोग गरेको खबर आयो । उनले माफी मागे र आफ्ना शब्द अस्वीकार्य भएको बताए पनि । डब्लुडब्लुईले सन् २०१८ मा हल्कलाई पुनः हल अफ फेमको सूचीमा समावेश गरेको थियो ।
हल्क आफ्नो रेस्लिङका दिन सकिएपछि पनि चर्चामा रहे । गत वर्ष अमेरिकाको मिलवाउकीमा भएको रिपब्लिकन नेसनल कन्भेन्सनमा बोल्दा उनले आफ्नो सर्ट च्याते अनि ट्रम्प र भान्सको चुनावी सर्ट देखाए । जानकारहरू हल्कलाई रियल अमेरिकन भन्न रुचाउँछन् ।
रेस्लिङका साथसाथै हल्कले हलिउड चलचित्रमा पनि काम गरे । नो होल्ड्स ब्यार्ड, सबअर्वन कमान्डो, रक्की–३ लगायतका चलचित्रमा हल्कको अभिनय देख्न सकिन्छ ।
हल्क सङ्गीतका पारखी पनि थिए । फ्लोरिडा राज्यका विभिन्न रक ब्यान्डसँग हल्कले काम पनि गरे । साथै हल्क आफ्नो सपरिवार ‘होगन नोज दी बेस्ट’ रियालिटी सो मा पनि देखिएका थिए । सन् २००५ देखि सन् २००७ सम्म चलेको यस सो मा हल्क आफ्नी पूर्वपत्नी लिन्डा, छोरा र छोरीसहित सहभागी भएका थिए ।
अस्थिर पारिवारिक जीवन
सन् २००७ सम्म आइपुग्दा लिन्डा र हल्कबिच सम्बन्ध सुमधुर हुन सकेन र सोही वर्ष उनीहरूले एकअर्काविरुद्ध सम्बन्धविच्छेदको मुद्दा पनि दायर गरेका थिए । पहिलो पत्नीसँग सन् २००९ मा सम्बन्धविच्छेद भएपश्चात् हल्कले सन् २०१० मा जेनिफर म्याकडेनियलसँग विवाह गरे । हल्कको दोस्रो विवाहको आयु पनि एक दशकभन्दा बढी टिक्न सकेन । जेनिफरसँग उनले सन् २०२१ मा सम्बन्धविच्छेद गरे । सन् २०२३ मा उनी स्काई डेलीसँग वैवाहिक जीवनमा बाँधिएका थिए ।
– कसम घिमिरे (युवामञ्च)