काठमाडौँ, असोज १० : एसिया कपको १७औं संस्करणसम्म आइपुग्दा भारत–पाकिस्तान पहिलोपटक फाइनलमा आमने-सामने हुँदैछन् । बिहीबार बंगलादेशलाई हराएसँगै पाकिस्तानले यसपटकको एसिया कपको उपाधि भीडन्तमा भारतलाई प्रतिद्वन्द्वी पक्का गरेको हो । दुवै देशबीच २८ सेप्टेम्बर अर्थात् शनिबार दुबईमा उपाधि भीडन्त हुनेछ ।
ट्वान्टी-२० फर्म्याटमा भइरहेको खेलको समूह चरण र सुपर ४ मा भारतले बाजी मारेको थियो । भारत अपराजित हुँदै फाइनल प्रवेश गरेको हो भने पाकिस्तानले समूह चरण र सुपर चारमा भारतसँगै हार बेहोरेको थियो ।
फाइनलमा भारत उक्त जितको उच्च मनोबलसहित उत्रिनेछ भने पाकिस्तान यसअघिका हारको बदला लिने मनसायका साथ उत्रिनेछ । यी दुई देशबीचको प्रतिस्पर्धा खेलका रुपमा मात्र नभइ खैल मैदानमा आक्रामक प्रतिस्पर्धा हुनेछ । पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानसँग कुनै पनि खेल नखेल्ने बताएको भारतले अन्तत: आईसीसी र एसीसीका आयोजनाहरुमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।
यसअघिका दुई खेलमा पनि यी दुई देशबीचको खेलका क्रममा खेलाडीहरुबीच नै एक अर्काप्रति सांकेतिक प्रहार गर्ने काम भएको छ । भारतले हात नमिलाउँदा होस् या पाकिस्तानी ब्याटरले अर्धशतक लगाउँदा ‘गन पोजिसन’ सेलिब्रेसन गर्दा लगायतका क्रियाकलाप चर्चाका विषय बनिरहेका छन् । यस्तोमा यी दुई कट्टर प्रतिद्वन्द्वीबीचको उपाधि भीडन्त रोचक हुनेछ । यद्दपि पछिल्ला आधा दर्जन बढी ट्वान्टी–२० प्रतियोगितामा भारतले एकतर्फी बाजी मारेको छ । सोही कारण पनि भारतीय टिमको मनोबल उच्च रहेको छ ।
भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा यो फाइनल खेल १३ औं पटक हुँदैछ । यसअघि भएका १२ फाइनलमा ८ पटक पाकिस्तान र मात्र ४ पटक भारतले जित निकालेको थियो । २०१७ को आईसीसी च्याम्पियन्स फाइनलमा दुवै टिमले अन्तिमपटक उपाधिका लागि भिडेका थिए । उक्त प्रतियोगितामा पाकिस्तानले बाजी मारेको थियो । भारतलाई पाकिस्तानविरुद्ध कुनै पनि प्रणालीको उपाधि भिडन्तमा अन्तिम पटक सन् २००७ मा जित मिलेको थियो ।
११ एक दिवसीयमा ८ पटक पाकिस्तान विजेता
भारत र पाकिस्तानबीच क्रिकेटमा पहिलो पटक कुनै पनि प्रणालीको प्रतियोगिताको फाइनल सन् १९८५ मा भएको थियो । वर्ल्ड च्याम्पियनसिप अफ क्रिकेटको उक्त फाइनल खेल भारतले ८ विकेटले जितेको थियो । योसहित भारतले एक दिवसीयको भिन्न भिन्न खेलमा ११ पटक उपाधि भिडन्त गरेका छन् । जसमध्ये ८ मा पाकिस्तान र ३ मा मात्र भारतले जित निकालेको छ ।
ट्वान्टी–२० मा दोस्रोपटक फाइनल खेल्दै
हाल एसिया कप ट्वान्टी–२० प्रणालीमा खेलिँदैछ । यस प्रणालीमा दुवै टिम एक अर्काविरुद्ध उपाधिका लागि दोस्रोपटक खेल्दैछन् । यसअघि पहिलोपटक सन् २००७ मा ट्वान्टी–२० विश्वकपमा खेलेका थिए । महेन्द्र सिंह धोनकी कप्तानीमा भारतीय टिमले ५ रनले जित निकाल्दै विश्वकपमा पहिलोपटक उपाधि आफ्नो नाम गरेको थियो ।
एसिया कपमा भने यी दुवै देशको फाइनल प्रतिस्पर्धा पहिलोपटक हो । १७ औं संस्करण दुबईमा जारी छ । १६ पटकसम्म भएको प्रतियोगितामा भारत र पाकिस्तान दुवैले एक/एक पटक बहिस्कार गरेका थिए । १५ मध्ये ८ पटक भारतले उपाधि जितेको छ । ३ पटक भारतीय टिम रनर–अप रह्यो ।
यता पाकिस्तानले पनि १५ प्रतियोगितामा २ पटक उपाधि जितेको छ । सन् २००० मा श्रीलंका र २०१२ मा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । सन् २०२२, २०१४ र १९८६ मा पाकिस्तानी टिम रनर–अप रह्यो । तर आजसम्म एसियाकपमा भारत–पाकिस्तान फाइनलमा एकैसाथ आमनेसामने भएका थिएनन् । ४८ वर्ष पुरानो यस प्रतियोगितामा यसपटक आठ टिमले सहभागिता लिएका थिए ।
सधैं विवाद, कहिले ट्वान्टी–२० त कहिले एक दिवसीयमा किन?
सन् १९८३ मा एसियन क्रिकेट काउन्सिल स्थापना भयो । क्रिकेटमा एसियन टिमको सहभागिता र प्रतिस्पर्धाका लागि यो गठन भएको थियो । विशेषगरी अझ भारत–पाकिस्तानबीचको खेल संख्या बढाउनु थियो । किनकि ८० को दशकमा क्रिकेट लोकप्रिय भइसकेको थियो ।
१९८४ मा काउन्सिलले नयाँ प्रतियोगिताको घोषणा गर्यो । र यसैको नाम दिइयो एसिया कप । १९८४ देखि अहिलेसम्म १६ पटक एसिया कप आयोजना भइसकेको छ । ९ सेप्टेम्बर अर्थात् मंगलबारदेखि यसको १७औं संस्करण सुरु हुँदैछ । र यसपटकको एसिया कप ट्वान्टी–२० फर्म्याटमा भएको छ ।
पाकिस्तान र श्रीलंकामा भएको १६ औं संस्करणमा नेपाल पनि सहभागी भएको थियो । एसिया कपमा नेपालको त्यो पहिलो इन्ट्री थियो । सिनियर टिममा भारत र पाकिस्तानी टोलीसँग खेलेको पनि नेपालको पहिलो अवसर नै थियो । भारत र पाकिस्तानसँग हार बेहोरे पनि श्रीलंकासँग भने वर्षात्का कारण खेल रद्द भयो । यसपालिको एसिया कपमा नेपाल छनोट नै हुन सकेन ।
हरेक दुई वर्षमा हुने एसिया कपमा सन् १९८४ देखि २०१४ सम्म १२ वटा संस्करण एक दिवसीयमा भयो । त्यसयता एसियन क्रिकेट काउन्सिलले यस प्रतियोगिताको प्रयोग विश्वकपको तयारीका लागि गरिने निर्णय लियो ।
यदि नजिकको विश्वकप एक दिवसीय हुनेछ भने एसिया कप पनि एक दिवसीय नै हुने । तर नजिकको विश्वकप ट्वान्टी–२० हुँदैछ भने एसिया कप पनि सोही फर्म्याटमा हुनेछ । त्यही कारण यसपटकको एसिया कप ट्वान्टी–२० फर्म्याटमा भएको हो । किनकि सन् २०२६ मा भारत र श्रीलंकाको आयोजनामा ट्वान्टी–२० विश्वकप हुँदैछ । एक दिवसीय विश्वकप भने सन् २०२७ मा हुनेछ ।
सन् २०१६ र २०२२ मा ट्वान्टी–२० विश्वकपभन्दा अगाडि एसिया कप ट्वान्टी–२० मा भएको थियो । यस्तै सन् २०१८ र २०२३ मा एक दिवसीय विश्वकप अघि एसिया कप पनि एक दिवसीय भएको थियो । नेपालले खेलेको पहिलो एसिया कप २०२३ मा एक दिवसीय प्रणालीमा खेलेको थियो ।
सबैभन्दा बढी उपाधि जित्ने टिम
एसिया कपमा सबैभन्दा धेरैपटक जित निकाल्ने रेकर्ड भारतको नाममा छ । अहिलेसम्म भएका १६ मध्ये १५ मा सहभागी भएकामा भारतले ८ पटक एसिया कपको उपाधि जितेको छ । पछिल्लो एसिया कप श्रीलंकालाई हराउँदै भारतले नै जितेको थियो । ८ मध्ये भारतले ७ वटा एक दिवसीय र एक संस्करण ट्वान्टी–२० फर्म्याटमा जितेको थियो । यस्तै श्रीलंकाले ६ पटक उपाधि जित्दा ट्वान्टी–२० फर्म्याट एक पटक र ५ पटक एक दिवसीयमा उसको नाममा रह्यो । पाकिस्तान दुई पटक एक दिवसीय फर्म्याटमा च्याम्पियन रह्यो ।
सबैभन्दा धेरै खेल जित्ने रेकर्ड
एसिया कपमा सधैभन्दा धेरै खेल जित्ने टिम पनि यस संस्करणलाई जोड्दा भारत नै हुन पुगेको छ । अघिल्लो संस्करणसम्म टिम श्रीलंकाले ४४ खेल जित्दै सबैभन्दा धेरै खेल जित्नेमा पहिलो नम्बरमा स्थान बनाएको थियो । तर यसपटकको फाइनलसम्म आइपुग्दा त्यो रेकर्ड भारतले तोडेको छ । भारतले यस संस्करणमा समूह चरणका तीनमध्ये तीनै खेल र सुपर चारमा २ जितसहित सबैभन्दा धेरै खेल जित्ने टिममा आफ्नो नाम समावेश गरेको छ ।
समूहचरणमा तीनै खेल जितेको श्रीलंकाको एसिया कपको इतिहासमा ४७ खेलमा जित दर्ता भएको छ । तर भारतले अघिल्लो संस्करणसम्म ४३ खेलमा जित निकालेकोमा अहिलेको संस्करणमा पाँच थप जित्दै ४८ खेलमा जित सहित पहिलो नम्बरमा स्थान बनाएको हो ।
सुरुदेखि नै विवादित
एसिया कप सुरुवातदेखि नै विवादित बनेको छ । यसपालीको संस्करण पनि भारत–पाकिस्तान विवादकै कारण हाइब्रिड मोडलमा हुन गइरहेको छ । जहाँ भारत र पाकिस्तानका खेल यूएईमा हुनेछन् । अघिल्लो संस्करण पनि भारत पाकिस्तानमा जान नमानेपछि भारतले आफ्ना खेलहरु श्रीलंकामै खेलेको थियो ।
दोस्रो संस्करणबाटै विवाद भएको थियो । १९८६ मा भारत र श्रीलंका क्रिकेट बोर्डको सम्बन्धमा कुरा नमिल्दा आउँदा प्रतियोगिता श्रीलंकामा भए पनि भारतले उक्त संस्करण बहिस्कार गर्यो ।
यस्तै सन् १९९० मा भारत–पाकिस्तानबीच सम्बन्ध बिग्रिँदा त्यसको असर एसिया कपमा पनि पर्यो । आयोजक भारत थियो तर पाकिस्तानले बहिस्कार गरेको थियो । पाकिस्तान आयोजक रहेको खण्डमा भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान जान मानिरहेको छैन ।
पहलगाम आक्रमणपछि त भारतीय खेलाडीले पाकिस्तानसँग कुनै पनि प्रतियोगिता नखेल्ने अडान लिएका थिए । सोही कारण लेजेन्ड्स च्याम्पियनसिपको सेमिफाइल खेल नै भारतीय टिमले पाकिस्तानविरुद्ध बहिस्कार गर्यो । उक्त प्रतियोगिता फाइनलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकी टिमले जितेको थियो ।
सहभागी टिम
यसपटकको एसिया कपमा ८ टिम सहभागी थिए । दुई समूहमा चार–चार टिमलाई राखिएको थियो । समूह ‘ए’मा भारत, पाकिस्तान, ओमान र यूएई थिए भने समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, हङकङ र श्रीलंका ।
यस्ता छन् कीर्तिमान
शीर्ष तीन लक्ष्य
१. पाकिस्तान–३८५ रन (५०) बंगलादेशविरुद्ध (२०१० जुन २१)
२. भारत– ३७४ रन (५०) हङकङविरुद्ध (२००८ जुन २५)
३. श्रीलंका–३५७ रन (५०) बंगलादेशविरुद्ध (२००८ जुन २५)
न्यून योगफल
१.श्रीलंका– ५० (५० ओभरमा १५.२ मा अलआउट) भारतविरुद्ध (२०२३ सेप्टेम्बर १७)
२. बंगलादेश– ८७ (५० ओभरमा ३४.२ मा अलआउट) पाकिस्तानविरुद्ध (२००० जुन २)
३. बंगलादेश ९४–(५० ओभरमा ३५.३ मा अलआउट) पाकिस्तान (१९८६ मार्च ३१)
भारी अन्तरले जित
१. भारत–२५६, सन् २००८ हङकङविरुद्ध
२. पाकिस्तान–२३८, सन् २०२३ नेपालविरुद्ध
३. पाकिस्तान–२३३, सन् २००० बंगलादेशविरुद्ध
व्यक्तिगत उच्च स्कोर
१.विराट कोहली–१८३ रन पाकिस्तानविरुद्ध सन् २०१२
२.बाबर आजम–१५१ रन नेपालविरुद्ध सन् २०२३
३. यूनिस खान–१४४ रन हङकङविरुद्ध सन् २००४