09/06/2025, 12:31:04
शनिबार, भदौ २१, २०८२

नेवार समुदायको ‘इन्द्रजात्रा’ हर्षोल्लासका साथ मनाइँदै


काठमाडौँ, भदौ २१ : नेवार समुदायले हर्षोल्लासका साथ शनिबार इन्द्रजात्रा पर्व मनाउने भएको छ । भाद्र शुक्ल एकादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । मुख्य रूपमा इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हुन्छ ।

जात्राभरि सवः भक्कुनाच, महाकालीनाच, लाखेनाच, दसअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइन्छ । इन्द्रजात्रा (येयाँ पुन्ही) को दिन सम्य् नखः (विशेष प्रकारको चिउरा लगायत बोडी, मासु, कालो भटमास, छोइला आदिको मिश्रण) का रूपमा पनि मनाउने गरिन्छ ।

इन्द्रजात्राको शुभकामना

उपत्यकालगायत देशका विभिन्न स्थानमा आज कुमारी इन्द्रजात्रा पर्व मनाइँदै छ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वृष्टि र उर्वरता प्राप्त हुने विश्वासका साथ मनाइने यस पर्वले धार्मिक सहकार्य र परम्पराको निरन्तरता, सामाजिक ऐक्यबद्धता, मेलमिलाप र सहकार्य बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धलाई पर्वले उजागर गरेको बताउनुभएको छ । उहाँले शताब्दियौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्न, आफ्नो मूल्य र परम्परालाई निरन्तरता दिन तथा विकसित बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कुमारी इन्द्रजात्रा पर्व मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखासहितका जिल्लामा मनाइन्छ ।

राष्ट्रपति पौडेलले यस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबिचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महìवको यस पर्वमा वर्षा र सहकालका देवता इन्द्रको पूजाअर्चना गर्दै कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।

यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले सो पर्वको अवसरमा शुभकामना दिनुहुँदै इन्द्रजात्रा नेपालको एक जीवन्त सांस्कृतिक धरोहर रहेको उल्लेख गर्नुभएको छ । उहाँले यो जात्राले पुरानोबाट नयाँ पुस्तामा परम्परा, रीतिरिवाज र सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।