
काठमाडौं, भदौ १० : परम्परागत, पौराणिक र धार्मिक आस्था रहेको तीज पर्व हिन्दु नारीका लागि विशेष महत्त्व राख्ने पर्व हो । भाद्र शुक्ल द्वितीयाका दिन दर खाएर सुरु हुने यो पर्व भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत, गणेश चतुर्थीपछि पञ्चमीका दिन सप्तऋषिको पूजापछि तीज विधिवत् रूपमा समापन हुन्छ ।
तीज पर्वको परम्परागत स्वरूपलाई हेर्दा यसको आफ्नै मौलिकता र परम्परा रहेको छ । विवाहित छोरी, चेलीबेटी र दिदीबहिनीलाई माइती तथा मावली घरमा बोलाएर मीठो दर खुवाएर, नयाँ लुगा किनिदिएर खुसी बनाउने तीजको परम्परा हो । आ–आफ्नो जन्मघरमा जम्मा हुँदा लामो समयपछि भेट भएका बालसखी तथा दिदीबहिनीले तत्कालीन परिवेशमा आफूले श्रीमान्को घरमा भोगेका वेदना, दुःख, पीडा र विरहका कथा गीतका माध्यमबाट पोख्ने गर्दथे ।
तत्कालीन परिवेशमा विविध बाधा अड्चनका कारण लामो समयसम्म पारिवारिक दमन र बुहार्तनबाट छुट्कारा नमिल्ने अवस्थामा तीज मात्र यस्तो पर्व हुने गर्दथ्यो, जुन पर्वमा माइती तथा मावली स्वयं लिन आएर आफ्ना चेलीलाई माइत तथा मावल लिएर जान्थे । यही तीज पर्वमा तत्कालीन बुहारीहरूले वर्षभरिका मानसिक वेदना मात्र नभई मीठो खाएर र आराम गरेर शारीरिक थकान पनि मेट्ने गर्दथे भन्ने विश्वास छ ।
तत्कालीन समाजमा यो पर्वको आजभन्दा बढी मान्यता र महत्त्व थियो । सामाजिक सद्भाव र पारिवारिक पुनर्मिलनसँगै मनोरञ्जनको पर्व थियो । सूचना प्रवाहको माध्यम र महिला एकताको पर्व थियो तीज । आफूले भोगेका पीडा आफ्ना माइतीलाई सुनाउन नसके पनि समूहमा गीतका रूपमा गाएर सूचना प्रवाह गरिन्थ्यो । सुख, दुःखका भोगाइहरू साटासाट गर्दा सबैले भोग्ने सर्वमान्य पीडा सामान्य लाग्थे र परिस्थितिसँग सामना गर्न सहज हुन्थ्यो । सञ्चारको विकास पूर्णरूपमा नभइसकेको तत्कालीन समाजमा तीजका गीतमा वर्षभरि छोरी–बुहारीले भोगेका पीडा व्यथासँगै सामाजिक घटना र परिस्थिति पनि वर्णन गरिन्थे । विशेष घटनामा आधारित गीत महिनौंसम्म गाइन्थे, गुञ्जिन्थे ।

वर्षभरि परिश्रम गर्दा पनि कहिले मीठो र मनपर्ने खानेकुरा खान नपाउने बुहारीहरूले महिनौंसम्मको व्यग्र प्रतीक्षापछि माइतीमा गएर खान पाउने पर्व थियो तीज । नयाँ पहिरन लगाउन पाउने अवसर थियो तीज । वर्षभरिका पीडा र व्यथा बिसाउँदै विरहका गीत गाउने पर्व थियो तीज । तत्कालीन निरंकुश समाजमा सांकेतिक रूपमा महिला मुक्ति र महिला सशक्तीकरणका आवाज उठाउने पर्व थियो तीज । धार्मिक र पौराणिक मान्यताका आफ्नै विशेषता भए पनि हरेक पर्व, चाडबाड र परम्पराले तत्कालीन समाजको चित्रण र समाजका व्यक्तिहरूसँग प्रत्यक्ष सरोकार राख्छन् ।
यस्ता चाडबाड र पर्वहरूसँग जोडिएका धार्मिक, पौराणिक कथा र किंवदन्तीले समाज र मानव जीवनका लागि केही सन्देश दिन खोजिरहेका हुन्छन् । यसैगरी हरितालिका तीजको धार्मिक र पौराणिक शिव–पार्वतीको कथाभित्र पनि महिलाका लागि निकै मार्मिक र सकारात्मक सन्देश रहेको बुझ्न सकिन्छ । शिव–पार्वतीको पौराणिक कथाले संज्ञात्मक रूपमा धेरै सन्देश दिएको छ । कथामा चित्रण गरिएका घटना परिघटनालाई वैज्ञानिक रूपमा पुनर्व्याख्या गर्न सकिन्छ र गरिनुपर्दछ ।

हिमालय पर्वतले आफ्नी प्यारी पुत्रीको मनोदशा नै नबुझी नारदद्वारा ल्याइएको विष्णुसँगको विवाह प्रस्ताव स्वीकार गर्ने निर्णयले तत्कालीन पितृसत्तात्मक समाजको प्रस्ट चित्रण गर्दछ । जहाँ नारीमाथि पुरुषहरूको पूर्ण नियन्त्रण र अधिकार हुन्छ । वर्षौंसम्मको कठोर तपस्या र आफ्नो मनसुवा पार्वतीले आफ्ना मातापितासामु राख्न नसक्नुले नारीको हिँडडुल गर्न तोकिएको सीमा, परिधि, यौनिकताको नियन्त्रण र कडा अनुशासन पालनालाई चित्रण गर्दछ ।
पार्वतीले आफ्ना साथीसंगीलाई आफ्नो मनोइच्छा सुनाइसकेपछि उनका सबै साथीसंगीहरूले आफ्नी सखीको मनोदशा बुझी उनलाई उनका बुबाको बन्धनबाट मुक्त गराई गोप्य रूपमा जंगलमा लुकाएर साथीसंगी जम्मा भएर रमाइलो गर्नुलाई तीजको दर खाने दिनसँग जोड्न सकिन्छ । पार्वतीले परंब्रह्मको रूप मानिने विष्णुलाई आफ्नो भावी पतिका रूपमा स्वीकार गर्न नसक्नुले एक स्त्रीका लागि सम्पन्नता, सर्वव्यापी, सर्वमान्य, प्रतिष्ठाभन्दा मनले रुचाएको जीवनसाथी पाउँदा खुसी लाग्ने सत्य कुरा उजागर गरेको छ । पार्वतीले भगवान् शिवको चाहना गर्नु र अन्ततः चाहेको वर पाउनुले कन्याले आफ्नो भावी पति रोज्ने, स्वयम्बरको अधिकार रहेको विषयलाई प्रतीक गर्दछ ।
हिमालय पर्वतले भगवान् शिवभन्दा योग्य वर विष्णुलाई मान्नुले एक पिताको आफ्नी पुत्रीको भविष्यप्रति चिन्तित र भविष्य सुनिश्चित गर्न चाहेको पितामनोदशालाई मात्र नभएर उनको पुरुषार्थताको अगाडि कमजोर अवला नारीको जिद र इच्छा पाच्य नभएको पनि प्रतिबिम्बित गर्दछ ।

तीजको पौराणिक र धार्मिक प्रसंगलाई जोडेर हेर्दा कथाका धेरै पक्ष परम्परागत नेपाली समाजमा अभ्यासमा रहेको देख्न र सुन्न सकिन्छ । परम्परागत पितृसत्तात्मक समाजमा घरका पुरुष वा बुबाले छोराछोरीका लागि योग्य वर खोजिदिनु, यदाकदा कसैले आफ्नो लागि जीवनसाथी रोज्न पुगे समाज र परिवारमा यस्तो सम्बन्ध नस्विकारिनु, जति नै क्षमतावान् र असल लक्षणयुक्त भए पनि सामाजिक प्रतिष्ठाले जात, वर्ग र धर्मले वर–वधू छनोटमा विशेष महत्त्व राख्नु जस्ता अभ्यास तीजको कथाले भनेजस्तै छन् ।
परम्परागत तीज गीतमा आफ्ना माइती लिन आउँदा खुसी भई रमाएका र माइती नहुने र भएकाले नसम्झिँदा दुःखी भएका प्रसंगहरू सुन्न पाइन्छ । माइतीमा बटुलिएका चेलीबेटीलाई उपलब्ध सामग्रीहरूका मीठामीठा खानेकुरा र थरीथरीका तरकारी, अचार र दूधका परिकार पकाएर धित् मरुन्जेल खुवाउने गरिन्थ्यो । परम्परागत तीज गीतमा समेत पोलेको तामा, गिठा, कर्कला, आलुको अचार, दूध, दही, घ्यू, खिर, ढकनी, खुवाजस्ता दूधका परिकार, रोटी र फलफूलहरू खान दिइने गरेको उल्लेख छ ।

आधुनिक समाजमा अधिकांश महिलाहरू आफैं सचेत, सम्पन्न, स्वतन्त्र, आत्मनिर्भर र सक्षम छन् । व्यवहार एउटा पक्ष हो तर महिला मुक्ति, अधिकार र महिला सशक्तीकरणका आवाजहरू संविधान र कानुनमै सम्बोधन गरिएका छन् । कानुनले महिलालाई पहिलाभन्दा धेरै अधिकार सम्पन्न गराएको छ । हुँदा खाने सर्वहारा वर्गका आफ्नै पीडा छन् । तर, बिस्तारै आर्थिक रूपमा सबल बन्दै गरेका नारीहरूलाई यदाकदा र अपवाद छोडेर मीठो खान वर्षभरि कुर्नुपर्ने र माइतीमा नै पुग्नुपर्ने बाध्यता अहिले छैन ।
तीज परम्परागत रूपमा मानिँदै आएको पर्व मात्रै नभई, सामाजिक सद्भाव, पुनर्मिलन, गीत–संगीत र मनोरञ्जनको अवसर पनि हो ।
– अन्जु केसी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









