मङ्गलबार, पुष ०९, २०८१

सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी


१५ असोज, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढी-पहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताए । आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने उनले बताए । ‘हाम्रो कुरा बन्द गर्ने नै हो । हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामै छन्,’ उनले भने, ‘ बुकिङ गरेर के गर्ने ?’ आज महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने उनले बताए ।

धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । ‘१७ गतेदेखिका लागि धेरैले टिकट बुकिङ गरेका छन्, यसबारे के गर्ने भन्नेबारे सरकारसँग छलफल हुन्छ । साँझ विज्ञप्ति मार्फत जानकारी गराउँछौं ।’ उनले भने ।

१२ असोजमा आएको बाढी-पहिरोले काठमाडौं उपत्यका लगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारी-साधन सञ्चालन गर्न कठिनाइ भएको छ । सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारी-साधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द जस्तै छ । घटस्थापनाको दिनदेखि टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर, त्यस बेलासम्म बस सञ्चालन हुनसक्ने अवस्था नरहेको यातायात व्यवसायीको तर्क छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading