साउन २०,फिदिम : पाँचथरको याङवरक गाउँपालिका-१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका बालबालिका स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मङ्गलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बालबालिका साउन १५ गते शुक्रबार बिहानदेखि हराइरहेका थिए । बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी चौकी, वडा कार्यालय तथा जनप्रतिनिधिहरू गाउँ र आसपासको जङ्गल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए ।
यसैबिच साविक च्याङथापु १ र ८ लाई सिमाना छुट्याएर बग्ने बिरुवा खोलामा दुवै जनाको शव भेटिएको याङवरक १ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिनुभयो ।
बालबालिकाको शव घटनास्थलको प्रकृति मुचुल्का तयार गरेर पोष्टमार्टका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको पनि बुढाथोकीको भनाइ छ ।