१६ साउन, काठमाडौं : नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको आय-व्यय विवरण सार्वजनिक गरेको छ । क्यानको बिहीबार मूलपानीमा बसेको केन्द्रीय समिति बैठकले एनपीएलको पहिलो सिजनबाट झन्डै साढे २ करोड खुद मुनाफा भएको विवरण प्रस्तुत गरिएको थियो ।
एनपीएल गभर्निङ काउन्सिलले क्यानसमक्ष प्रस्तुत गरेको आयव्ययलाई गहन छलफलपछि अध्ययन गरेर अर्को केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको छ । ‘एनपीएलको हिसाबकिताब केही सदस्यले अध्ययन गर्नुपर्छ भनेपछि अर्को मिटिङबाट अनुमोदन गर्ने निर्णय भएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘क्यान बैठक मुख्यतः एनपीएल केन्द्रित थियो । अन्य विषयका निर्णयहरू हामी १–२ दिनभित्रै गर्नेछौं ।’
क्यानले एनपीएल पहिलो सिजनबाट कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ भएको जनाएको छ । त्यसक्रममा प्रतियोगिता आयोजना गर्न कुल २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको छ । यसअनुरुप ७ करोड ५३ लाख ९१ हजार २ सय ५९ रुपैयाँ आम्दानी भएको छ ।
क्यान प्रवक्ता लामाका अनुसार एनपीएलको टिकट बिक्रीबाट ४ करोड २२ लाख ६५ हजार १ सय ५८ रुपैयाँ र कमर्सियल राइट्सबाट ६ करोड ६ लाख ५३ हजार ५ सय ९४ आम्दानी भएको छ । यी दुवै जोड्दा १० करोड २९ लाख १८ हजार ७ सय ५२ रुपैयाँ हुन्छ । यसको कर काटेर बचेको रकममा ५० प्रतिशत क्यानले राख्ने र बाँकी ५० प्रतिशत ८ फ्रेन्चाइज टोलीले बाँडेका थिए । त्यसबाट प्रत्येक फ्रेन्चाइज टोलीले ५४ लाख ६७ हजार ५ सय ५८ रुपैयाँ पाउने छन् । टिकट बिक्रीको ५० प्रतिशत रकम फ्रेन्चाइज टोलीलाई बाँडेपछिको बाँकी हुने ३ करोड १६ लाख ५० हजार ७ सय ८९ रुपैयाँबाट क्यानले सातै प्रदेशलाई १०–१० लाख प्रदान गरेको थियो ।