काठमाडौँ २ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक वर्षमा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएका अवसरमा आज पत्रकार सम्मेलन गर्दै उहाँले एक वर्षमा नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभएको हो ।
मन्त्रालयले एक वर्षमा ८० प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्री खड्काले प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौताअनुरूप कार्ययोजना बनाएर सुरुदेखि नै परिणाममुखी ढङ्गमा काम अघि बढाएको बताउनुभयो ।
एक वर्षमा ६३१ मेगावाट विद्युत् थपिएको र कूल जडित क्षमता तीन हजार ८७८ मेगावाट पुगेको छ । “म मन्त्री हुनुभन्दाअघि तीन हजार २०० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको थियो अहिले तीन हजार ८७८ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ, दैनिक ८०० सय मेगावाटभन्दा बढी विद्युत् भारत र बङ्गलादेशमा बिक्री भइरहेको छ”, मन्त्री खड्काले भन्नुभयो ।
ऊर्जा मन्त्रालयले पहिलो पटक ऊर्जा विकास मार्गचित्र–२०८१ जारी गर्दै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि ४६ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय योजना पनि तयार गरिएको छ ।
उत्पादित विद्युत्मध्ये १५ हजार मेगावाट विद्युत् भारत र बङ्गलादेशलाई निर्यात गर्ने र बाँकी १३ हजार ५०० मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य राखिएको छ । बङ्गलादेशमा पहिलो पटक डलरमा ४० मेगावाट विद्युत् बिक्री गर्दै पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने सुनिश्चित भएको छ ।
मन्त्री खड्काले भारतमा ९४१ मेगावाट निर्यात र एक हजार मेगावाट आयातको स्वीकृति प्राप्त भएको जानकारी दिनुभयो । उहाँले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवाद अब छिट्टै हल हुने प्रक्रियामा रहेको बताउनुभयो ।
उहाँले लाल आयोगको प्रतिवेदन आफूले सार्वजनिक गरेको बताउँदै आयोगको प्रतिवेदनअनुसार बक्यौता विवाद समाधान गर्न र उठ्नुपर्ने रकम एक पैसा पनि नछोड्न प्राधिकरण र विद्युत् नियमन आयोगलाई निर्देशन दिएको बताउनुभयो ।
एक वर्षको अवधिमा वैकल्पिक ऊर्जाका क्षेत्रमा एक वर्षमा ३९७ किलावाट लघु जलविद्युत्, ६०३ किलावाट सौर्य प्रणाली स्थापना भएको छ । यसबाहेक तीन हजार ५८४ बायोग्यास प्लान्ट, चार हजार १४२ घरेलु सौर्य प्रणाली र ३२० सुधारिएको चुलो जडान गरिएका छन् ।
मन्त्री खड्काको एक वर्षे कार्यकालको अवधिमा १७ हजार ३०८ हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विस्तार गरिएको छ । हालसम्म १५ लाख ८६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो ।
यस्तै, बाढी र पहिरोबाट प्रभावित प्रमुख आयोजना–रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ ए, त्रिशूली केन्द्रलगायत आयोजना प्रभावित भए पनि तीमध्ये अधिकांश आयोजनाहरू पुनःसञ्चालनमा ल्याइएको मन्त्री खड्काले जानकारी दिनुभयो ।एक वर्षमा ऊर्जा तथा जलस्रोतसँग सम्बन्धित विद्युत् विधेयक, जलस्रोत विधेयक, नवीकरणीय ऊर्जा विधेयक संसद्मा दर्ता भइसकेको छ भने जल तथा मौसम नीति मन्त्रिपरिषद्बाट स्वीकृत भई लागू भइसकेको छ ।
ऊर्जा तथा सिँचाइ पूर्वाधार निर्माणमा वैदेशिक साझेदारीका विभिन्न परियोजनामार्फत झण्डै एक अर्ब अमेरिकी डलर बराबरको ऋण÷अनुदान रकम सुनिश्चित भएको मन्त्री खड्काले बताउनुभयो । पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीलगायत मन्त्रालयका उच्च तहका कर्मचारीको उपस्थिति थियो ।