11/16/2025, 23:37:48
आइतबार, कार्तिक ३०, २०८२

ढाकामा शेख हसिनाको मुद्दा फैसलाअघि देशभर तनाब


ढाका, कात्तिक ३० : बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरिरहनुभएको छ ।  फैसला आउनुअघि नै देशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । शेख हसिना नेतृत्वको बङ्गलादेश अवामी लिगले आइतबार बिहानदेखि देशभर दुई दिने बन्दको घोषणा गरेपछि सामान्य जनजीवन प्रभावित बनेको छ । राजधानी ढाकामा ट्राफिक अत्यन्तै कम देखिएको छ भने केही क्षेत्रमा पटाखा विस्फोट भएको रिपोर्टसमेत आएको छ ।

आगामी आम चुनावले देशमा स्थिरता पुनःस्थापना गर्ने आशामा व्यवसायी तथा उद्योगीहरूले राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का पूर्वअध्यक्ष काजी मोनिरुज्जमानले परिस्थितिलाई अत्यन्तै असहज भन्नुभएको छ । उहाँले भन्नुभयो, “हामी निकै चिन्तित छौँ । आशा छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ, जनता शान्तिपूर्वक मतदान गर्न पाउनेछन् र निर्वाचित सरकारले अहिले निकै कमजोर बनेको व्यापार, सामाजिक समस्या तथा कानून–व्यवस्थालाई सुधार गर्नेछ ।

उहाँले सन् १९७१ को मुक्ति युद्धका एक स्वतन्त्रता सेनानीका रूपमा जनतालाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै भन्नुभयो, “गत वर्ष अत्यन्त कठिन रह्यो । सन् २०२६ को निर्वाचनले देशलाई नयाँ आशा दिने अपेक्षा छ । हाम्रो सार्वभौमिकताको रक्षा गर्दै सबै छिमेकी राष्ट्रसँग सन्तुलित र मधुर सम्बन्ध राख्नु आवश्यक छ । यस क्षेत्रको शान्तिका लागि सबैले एकताबद्ध हुनुपर्छ ।

भारतसँगको सम्बन्धलाई लिएर पनि मोनिरुज्जमानले विशेष जोड दिँदै भन्नुभयो, “भारतले सन् १९७१ मा हामीलाई अमूल्य सहयोग गरेको थियो । स्वतन्त्रता सेनानीका रूपमा मैले त्यहाँ प्रशिक्षणसमेत पाएको हुँ । हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गर्दै भारतसँग सुदृढ सम्बन्ध कायम राख्नु आवश्यक छ । ठूलो छिमेकीका हैसियतले भारतले हाम्रो भावनाको सम्मान गर्नेछ भन्ने आशा छ ।

गार्मेन्ट उद्योगबारे उहाँले भन्नुभयो, “यो उद्योग हाम्रो देशको गर्व हो । धेरै वर्षदेखि यसको योगदान उच्च छ, तर अहिलेको अस्थिरताले यसलाई जोखिममा पारेको छ । कुनै पनि अशान्तिले उद्योगलाई हानि पु¥याउन सक्छ र विदेशी क्रेताहरूले विश्वास गुमाउन सक्छन् । अधिकांश विदेशी मुद्रा यही क्षेत्रबाट कमाइन्छ र विशेषगरी महिलाहरूको ठूलो रोजगारको स्रोत यही उद्योग हो । यदि उद्योग असुरक्षित बन्यो भने सामाजिक अशान्ति र आर्थिक सङ्कट थपिन सक्छ ।

अल्पसङ्ख्यकको प्रसङ्गमा उहाँले भन्नुभयो, “मानवका रूपमा म कुनै धार्मिक विभाजनमा विश्वास गर्दिनँ । हामी सबै पहिले बङ्गलादेशी हौँ, अनि मात्र विभिन्न धर्मका अनुयायी ।

यसैबीच, मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिग तथा यसको सम्बद्ध सङ्गठनहरूको गतिविधिमा प्रतिबन्ध लगाएदेखि पार्टी नेताहरूले अज्ञात स्थानबाट अनलाइनमार्फत कार्यक्रमहरूको घोषणा तथा प्रचार–प्रसार गरिरहेका छन् । सन् २०२४ जुलाईको विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार अपदस्थ भएको थियो । सन् २०२४ अगस्ट ५ मा उहाँ भारत प्रस्थान गर्नुभएको थियो र त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार सोही महिनामा भएको हिंसात्मक प्रदर्शनमा करिब एक हजार ४०० जनाको मृत्यु भएको हुनसक्ने उल्लेख छ । शेख हसिनाको नेतृत्वमा नै सन् १९७१ को मुक्ति युद्धमा भएका अपराधको मुद्दा चलाउन अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण स्थापना गरिएको थियो । सोही ट्रिब्युनलले उहाँको कार्यकालमा जमात–ए–इस्लामीका धेरै नेतामाथि युद्ध अपराधका मुद्दा दायर गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..