07/17/2025, 19:16:14

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन


 चितवन, १ साउनः आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०/८१ को भन्दा आव २०८१/८२ मा रु चार अर्ब ५२ करोड २५ लाख बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार राजस्व सङ्कलन भएकामा गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको हो ।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ९४ दशमलव ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत मात्रै सङ्कलन भएको थियो । आव २०७९/८० मा लक्ष्यको ७७ दशमलव ९४ प्रतिशत राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले गत आर्थिक वर्षमा सुरुवाती समयदेखि साना तथा ठूला सबै करदाताको विवरण अध्ययन गरी आवश्यक राजस्व सङ्कलनमा जोड दिएको जनाएको छ । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले कर नतिर्ने करदातालाई घरघरमा पत्राचार गरेर करसङ्कलन अभियानलाई तीव्रता दिइएको बताउनुभयो । कार्यालयले करदातालाई टेलिफोन गरेर कार्यालयमा बोलाई राजस्व तिर्न प्रोत्साहन गरेको थियो । उद्योग वाणिज्यसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरेर करशिक्षा कार्यक्रमसमेत आयोजना गरिएको उहाँको भनाइ छ ।
कर नतिर्ने करदातालाई कालोसूचीमा राख्ने काम गरिएको बताउँदै प्रमुख खड्काले कोभिडपछि कार्यालयले आव २०८१/८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । सूचना अधिकारी पौडेलले निरन्तर मिहिनेत गरेकाले राजस्व बढाउन सकिएको बताउँदै लक्ष्यमा पुग्न अझै नसकिएको उल्लेख गर्नुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..