07/14/2025, 16:13:47

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान


काठमाडौँ, ३० असारः वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज उक्त आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । ऊर्जासचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) कृष्णप्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्नुभयो ।

सचिव आचार्यले आयोजना निर्माणको कामलाई समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । वर्षौंदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अगाडि बढ्न नसकेर उत्पादक, लगानीकर्ता र सञ्चयकर्ताहरू निराश भइरहेका बेला ऊर्जामन्त्री दीपक खड्काको निर्देशनपछि भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अनुमति प्रदान गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

अनुमतिपत्र प्रदान कार्यक्रममा मन्त्रालयका सहसचिव, विद्युत् विभागका महानिर्देशकका साथै प्रतिनिधिसभा सदस्य हृदयराम थानी, शेरबहादुर कुँवर, पुष्पबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।

उत्पादन अनुमतिपत्र ग्रहण गर्दै कम्पनीका सिइओ आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाट समाधान गर्दै अनुमति दिन महत्त्वपूर्ण भूमिका खेल्नुभएकामा ऊर्जामन्त्री, सचिवलगायत लगानी बोर्डलाई धन्यवाद दिनुभयो । उहाँले आयोजनालाई निर्धारित समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त आयोजनामा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानीसहित कुल लागत करिब रु ९३ अर्ब रहने अनुमान गरिएको छ । बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारी र २५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको लगानी रहनेछ ।