जनकपुर, २५ असारः मधेस प्रदेशलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेस प्रदेश देशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश बनेको बताउनुभयो । उहाँले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसको निरन्तरताका लागि योगदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले मधेस देशमै पहिलो पूर्ण खोप सुनिश्चितता प्रदेश बनेकामा गर्भको अनुभूति भएको बताउनुभयो । उहाँले अब यसको निरन्तरताका लागि सबै जिल्ला खोप समन्वय समिति, सरोकार भएका सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले प्रदेश सरकारलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रदेशमा एक डोज खोप नलिएका २१३ र कुनै न कुनै खोप छोडेका १२ हजार २३० बालबालिकालाई घरघरमा पुगी खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएको स्वास्थ्य निर्देशनालयका खोप प्रमुख लक्ष्मेश्वर झाले जानकारी दिनुभयो ।