गण्डकी, १९ असार : युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्र मार्फत चालु आवमा ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष तालिममा सहभागी ७८७ जनाले १० किसिमका सीप आर्जन गरेको तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिनुभयो । पछिल्लोपटक आयोजित तीनमहिने तालिममा २०४ जनाले सहभागिता जनाएका छन् । उक्त अवधिमा मोबाइल मर्मत, प्लम्बिङ, सिलाइकटाइ, कुक, ब्यूटीपार्लर, फेशन डिजाइन, सैलुन, मण्टेश्वरी लगायत विषयमा तालिम प्रदान गरिएको थियो ।
आगामी आवमा एक हजार चार सय युवालाई सीपमूलक तालिम प्रदान गर्ने योजना रहेको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले बताउनुभयो । उद्यमशीलता प्रवर्द्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदानसमेत दिइने मन्त्री थापाले बताउनुभयो ।
“सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ ।”
केन्द्रले आगामी आवमा युवाहरुलाई लक्ष्य गरी सीप विकासका थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।