काठमाडौँ, १९ असारः काठमाडौँ महानगरपालिका–२७ असनस्थित ऐतिहासिक र सांस्कृतिक महत्वको ‘इटाचापा’ पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सो इटाचापा एक वर्षमै पुनःनिर्माण सम्पन्न गरिएको हो ।
भूकम्पको नौ वर्षपछि गत वर्ष असारमा पुनःनिर्माण सुरु गरिएको थियो । गुठी संस्थानअन्तर्गतको सो इटाचापा भूकम्पले क्षति गरेपछि कसले बनाउने भन्नेमा अन्योल थियो ।
महानगर अन्तर्गतको सम्पदा भएकाले वडाको पहलमा पुनःनिर्माण सुरु गरी तोकिएको समयभन्दा दुई वर्ष अगावै सम्पन्न भएको वडा अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभयो । ऐतिहासिक महत्वको यो भवन करबाहेक रु दुई करोड ४९ लाख ३७ हजार ५७२ पैसा २५ मा पुनःनिर्माण गरिएको हो । तीन वर्षमा भवन पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।
यो भवनमा प्रत्येक वर्ष दसैँको टीकाको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेवारी भाषामा ‘मरजा’ भनिन्छ । टीकाको भोलिपल्ट यहाँ अन्नपूर्ण देवीको जात्रा चलाइन्छ । विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ ‘क्वारेन्टाइन’ बस्ने गरेका थिए । लामो समय ल्हासा पुगेर सामान ल्याएपछि केही रोग लाग्नसक्ने सम्भावनालाई रोक्न १० दिनसम्म व्यापारी यहाँ ‘क्वारेन्टाइन’ बस्ने परम्परा देखेको वडाध्यक्ष खड्गीले बताउनुभयो ।
भवन भत्काउनुअघि माथिल्लो तलामा सांस्कृतिक गतिविधिसहित असन सेवा समिति र अन्नपूर्ण गुठीको कार्यालय थियो । भुइँ तलामा पसल सञ्चालन हुने गरेको थियो । पसलको भाडा गुठी संस्थानले लिने गरेको छ । यो गुठी भवन अन्नपूर्ण मन्दिरको सांस्कृतिक गतिविधिसँग सम्बन्धित रहेको जनाइएको छ ।