05/12/2025, 18:38:49

बागमती सरकारले आईटी क्षेत्रमा ५ सय जनालाई रोजगारी दिने


हेटौंडा, २९ वैशाख : बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रविधि (आइटी) क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने भएको छ । मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत रोजगारी दिने तयारी गरेको हो ।

यस उद्देश्यका लागि आइतबार एक कार्यक्रममा मन्त्रालय र सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा श्रम मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती र सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारी अनुसार सुरक्षण कोषले कक्षा १२ पास गरेका युवाहरुलाई आईटी सम्बन्धी सीप विकास तालिम प्रदान गर्नेछ । साथै, उनीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र आईटी क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको छ ।

योजना अनुसार कोषले रोजगारीमुखी सीप विकास तालिम कर्जा सुरक्षणका लागि आवश्यक बैंक तथा वित्तीय संस्थाको छनोट गरी सम्झौता गर्ने छ । ती संस्थाहरुको विवरण सूचना प्रविधि प्रणालीमार्फत् अद्यावधिक गरिनेछ ।

यसैगरी सुरक्षण योगदानकर्ताले ‘रोजगारीमुखी सीप विकास तालिम कर्जा सुरक्षण कोष’ नामक छुट्टै कोष स्थापना गर्नेछन् । उक्त कोषमा कर्जाको १० प्रतिशत रकम जम्मा गरिनेछ । यही कोषबाट त्रैमासिक सुरक्षण शुल्क संकलन गरिने र कर्जामा क्षति भएमा क्षतिपूर्ति भुक्तानी गरिने व्यवस्था गरिएको छ ।

मन्त्री महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै देशमै रोजगारी सिर्जना गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । वैदेशिक रोजगारीका लागि जाने क्रम न्यूनीकरण गरी देशमै अवसरको खोजी गर्नुपर्नेमा उनले जोड दिएका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ