
काठमाडौँ, १८ वैशाख : सरल जीवन नै सादा जीवन हो । सरल जीवन सरस हुन्छ र यसले नै जीवनलाई सुन्दर बनाउँछ । उच्च विचारले मानिसलाई दैनिक कर्तव्यबोध गराई कर्तव्य परायण बनाउने मात्र होइन, जीवनलाई सरल ढङ्गबाट जिउने कला पनि सिकाउँछ । विश्वका धेरै आदर्श विद्वान, दार्शनिकहरु जस्तै राजनीति र सामाजिक क्षेत्रमा लागेका कतिपय व्यक्तिले पनि यही बाटोलाई पछ्याएका हुन्छन् । हाम्रै समाजमा पनि कतिपय यस्ता मानिस छन्, जसले राजनीतिलाई नाम र दाम कमाउने माध्यम नबनाएर जनताको सेवालाई नै केन्द्रमा राखेर साधारण जीवनयापन गरिरहेका छन् । यस्तै व्यक्ति हुनुहुन्थ्यो तीर्थराम डङ्गोल ।
उनै डङ्गोल आज हामीबीच हुनुहुन्न । जीवनको अन्तिम घडीसम्म पनि उहाँको निष्ठा र स्वाभिमानमा कुनै दाग लागेन । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका उहाँको सिनामङ्गलस्थित केएमसी अस्पतालमा यही वैशाख १३ गते निधन भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र शालिन व्यक्तित्वका पर्याय हुनुहुन्थ्यो उहाँ । सादा जीवन र उच्च विचारका पर्याय मानिनु हुने उहाँका तिनै गुणहरुले नै उहाँँलाई जीवन्त तुल्याउनेछ । २०२६ सालमा त्रिचन्द्र कलेजमा भर्ना भएदेखि नै मैले उहाँलाई चिन्ने र सङ्गत गर्ने अवसर पाएँ । उहाँभन्दा म उमेर र पढाइले ‘सिनियर’ भएका कारण उहाँ मलाई दाजुको रुपमा हेर्नुहुन्थ्यो । मैले नै उहाँलाई नेपाल विद्यार्थी सङ्घमा लाग्न प्रेरित गरेको थिएँँ । उहाँ विद्यार्थी सङ्गठनमा लागेदेखि नै जुझारु हुनुहुन्थ्यो । २०३४ सालमा उहाँ नेवि सङ्घको काठमाडौँ जिल्ला सभापति बन्नुभयो । पछि नेपाली कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापतिको जिम्मेवारी कुहलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
विसं २०४३ सालमा भएको स्थानीय निर्वाचनलाई पार्टीले उपयोग गर्ने नीति बनायो । स्थानीय तहलाई कब्जामा नलिएसम्म केन्द्रीय सरकारलाई कमजोर बनाउन सजिलो हुँदैन भन्ने सोचले नै सो चुनावको उपयोग गर्ने नीति लिइएको थियो । काठमाडौँंलगायत विभिन्न जिल्लाका स्थानीय तहमा कांग्रेस समर्थक नेता कार्यकर्ताले चुनावमा भाग लिएका थिए र अधिकांश स्थानमा विजय पनि भएका थिए । त्यतिबेला काठमाडौँ नगर पञ्चायतमा मैले नै हरिबोल भट्टराईलाई प्रधानपञ्च र डङ्गोलजीलाई उपप्रधानपञ्चमा उम्मेदवार बनाउन प्रस्ताव गरेको थिएँँ ।
चुनाव वैशाख÷जेठतिर हुन गइरहेको थियो । गणेशमानजीले एकदिन मलाई बोलाएर हरिबोलजी त बोल्न प्रखर हुनुहुन्छ तर तीर्थरामजीले कसरी जनतालाई ‘कन्भिन्स’ गर्नुहोला भनेर भन्दा मैले जातीय सन्तुलन मिलाउन र युवाको आकर्षणका लागि तीर्थरामजी सक्षम हुनुहुन्छ भनेर आश्वस्त तुल्याएको थिएँ । नभन्दै लैनचौरमा आयोजित चुनावी सभालाई उहाँले गर्नुभएको भाषणले निकै ताली पायो । सम्बोधनमा उहाँले गाईजस्तै पवित्र र हवाइजहाज जस्तै तेज गतिमा विकासका कामलाई अगाडि बढाउने भनेर भन्नुभएको थियो । गाई हरिबोलजीको चुनाव चिन्ह थियो भने हवाइजहाज तीर्थरामजीको चुनाव चिन्ह । पछि यो भाषणको चर्चा गणेशमानजीले पनि थाहा पाउनु भएछ, मलाई बोलाएर तपाइँको उम्मेदवार छनोट राम्रो लाग्यो भन्नुभएको थियो । निर्वाचनमा उहाँहरु दुवैजना विजय हुनुभयो ।
विसं २०१९ पुस १ मा शाही घोषणाबाट २०१५ सालको संविधानलाई खारेज गरी नेपालको संविधान, २०१९ जारी गरियो, जहाँ सम्पूर्ण अधिकार राजामा थियो । प्रजातन्त्र अपहरण भएको पुस १ गतेलाई नेपाली कांग्रेसले कालो दिनको रूपमा मनाउने भनेको थियो । त्यसैदिन संविधान दिवस मनाउने पञ्चायती सरकारको निर्णयलाई प्रजातन्त्रवादीले मान्ने कुरा भएन । हरिबोल र तीर्थरामजीले पनि संविधान दिवसलाई बहिस्कार गर्नुभयो । त्यसवापत उहाँहरु दुवैलाई पक्राउ गरी जेल चलान गरियो । उक्त व्यवस्थाको विरोध गरेकाले उहाँहरु निलम्बनमा पर्नुभएको थियो । हरिबोल झण्डै आठ÷नौ महिना जेल बस्नुभयो भने तीर्थरामलाई करिब एक वर्ष जेलमा राखियो । पार्टीका शीर्ष नेताले वहिस्कार नगरी बिरामी परेको बहाना बनाउन सल्लाह दिँदा पनि उहाँहरुले घोषणा गरेरै बहिस्कार गर्नुभएको थियो । यसरी उहाँमा पद र सत्ताको कुनै लोभ थिएन, प्रजातन्त्रका अगाडि अरु कुरा गौण हुन्थ्यो ।
जनमत सङ्ग्रह, सत्याग्रमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो । २०४६ सालको आन्दोलनमा पनि उहाँ निकै सक्रिय रहनुभयो । २०५६ सालमा भएको आम निर्वाचनमा उहाँ काठमाडौँको तत्कालीन क्षेत्र नं ७ बाट विजय हुनुभयो । निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा काठमाडौँ जिल्लाका सभापतिको हैसियतले काठमाडौँ जिल्लाबाट उहाँले जनआन्दोलनको नेतृत्व गर्नु भएको थियो । उहाँ २०६४ मा संविधानसभाको सदस्य हुनुहुन्थ्यो । यसैबीच उहाँ एकपटक स्वास्थ्य राज्यमन्त्री पनि बन्नुभयो । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनका क्रममा उहाँले पटक–पटक जेल जीवनसमेत बिताउनु भएको थियो । स्वर्गीय डङ्गोलले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो । लोकतन्त्रको रक्षा र ऐतिहासिक आन्दोलनमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिलाई गणेशमान शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा प्रदान गरिने स्वर्ण पदकले उहाँ सम्मानित हुनुभएको थियो ।
उहाँलाई स्मरण गरिरहँदा २०३४ सालमा काठमाडौँको जैसीदेवलमा भएको बम विष्फोटको घटना पनि सम्झनलायक हुन्छ । यस घटनालाई प्रयागसिंह बम काण्ड पनि भन्ने गरिन्छ । प्रयागजी पहिला कांग्रेसकै हुनुहुन्थ्यो, स्नातकको तर्फबाट सांसद मनोनयन हुनुभएका उहाँ पछि पञ्चायतमा लाग्नुभयो । त्यतिबेला पार्टीले सरकारका मन्त्री सहभागी भएका कार्यक्रम भाँड्ने नीति लिएको थियो । प्रयागजी झण्डा हालेर जैसीदेवल नजिकै टोलमा कार्यक्रममा गएर फर्किंदै हुनुहुन्थ्यो, त्यही क्रममा शिवप्रसाद बराल (उहाँलाई उपनाम शिव कङ्काल भनेर चिनिन्गथ्यो)सहितका साथीहरुले मन्त्रीको गाडीलाई लक्षित गरी बम प्रहार गरे । गाढीमा साभान्य क्षति भएपनि उहाँलाई केही भएको थिएन । पार्टीका शीर्ष नेताको निर्देशनमै वनारसबाट बम झिकाई पड्काइएको थियो । त्यस घटनामा आशंका लागेका भन्दै प्रहरीले जैसीदेवल टोलका धेरैलाई पक्राउ ग¥योमा मसहित उहाँलगायत धेरै साथीलाई प्रहरीले पक्राउ ग¥यो । स्थानीय एक युवकले बम पड्केको आफूले सुनेको र यसबारेमा आफूले तीर्थरामलाई भनेको भन्ने वयानको आधारमा उहाँलाई पक्राउ गरियो । म धादिङमा भएको भएपनि नेता भएका कारण मलाई पनि पक्राउ गरियो । केही समय हामीसँगै जेलमा बस्यौँ ।
बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई शीर्षस्थानमा राखेर राजनीतिमा होमिएका डङ्गोल कहिल्यै विचलित हुनु भएन । राजनीतिमा विजय र पराजयलाई सामान्य रूपमा लिने उहाँ पराजयबाट कहिल्यै अताल्लिनु भएन । झण्डै छ दशक लामो निष्ठाको राजनीतिक यात्रामा रहेका उहाँसँग जीवनभरको सम्पत्ति भनेकै निर्दाग चरित्र, पारदर्शिता, शान्त स्वभाव र दृढ आत्मविश्वास नै थियोे । समाजवादी जीवनशैली, आचरण, बेदाग चरित्र आदर्शभाव नै उहाँको परिचय बनेको छ । नेपाली राजनीतिमा जुझारू नेताका रुपमा चिनिनुहुने उहाँले कांग्रेसका सिद्धान्तलाई सधैँ आत्मसात गरिरहनुभयो ।
राजधानीको साधारण परिवारमा जन्मे हुर्केर राजनीतिलाई समाजसेवाको पर्याय ठान्नुहुने उहाँ त्याग, समर्पण, निष्ठा र सरल अनि सादगी जीवनका लागि कहिँकतै चुक्नु भएन । पछिल्लो समय राजनीतमा मौलाउँदो नातावाद, भ्रष्टाचार र विलासी जीवनले उहाँलाई कहिल्यै छोएन । साधारण पहिरन, सादगी भोजन र सबैसँग आत्मिय व्यवहार गर्नसक्ने उहाँको जीवनशैली देख्ने सबैले उदाहरणको रुपमा लिने गर्दछन् । जननायक वीपी कोइरालाको आदर्श भनेकै राजनीति देश र जनतामुखी हुनुपर्छ भन्ने थियो । तर आज हरेक राजनीतिक पार्टीका नेताहरुमा आफू केन्द्रित प्रवृत्ति हाबी भएर गएको छ । यस्तो बेलामा पनि उहाँले वीपीको त्यो आदर्शलाई बचाइराख्नु भएको थियो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौँ जिल्ला पूर्वसभापति डङ्गोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्षनेतालाई पटक–पटक सचेत गराएको स्मरण गराउँदै आउनु भएको थियो ।
विसं २००४ सालमा काठमाडौँको साधारण किसान परिवारमा जन्मनुभएका उहाँ जीवनपर्यन्त साधारण भएरै रहनुभयो । घरमा गाईपालन गरी दूध बिक्री गरेर परिवार चल्दै आएको थियो । कलेज पढ्न आउँदा होस् वा पछिसम्म राजनीतिक कार्यक्रममा आउँदा पनि एउटै साधारण पहिरनमा देखिनुहुन्थ्यो । उहाँको निधनले निष्ठाको अविरल राजनीतिक यात्राको एउटा यात्रुको सङ्ख्या मात्र घटेन, समाजलाई निष्ठा, इमान्दार र सादगी जीवनको उदाहरणको दीप पनि निभ्यो । उहाँको निधनबाट नेपाली कांग्रेस पार्टीले एक निष्ठावान कार्यकर्ता मात्रै गुमाएन सरल र सादगी जीवनका एक प्रेरणादायी राजनीतिज्ञ पनि गुमाएको छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँले सल्काएर राख्नुभएको निष्ठाको दियो निभ्न नदिनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।
– दामोदर गौतम
(प्रस्तुत विचार नेपाली काग्रेसका नेता गौतमसँग राससका कृष्ण अधिकारीले गर्नुभएको कराकानीमा आधारित)