ललितपुर, ७ चैतः ललितपुर महानगरपालिका–४ जावलाखेल चोकस्थित ललितमण्डप उचित व्यवस्थापनसँगै सर्वसाधारणका निम्ति आकर्षणको केन्द्रका रुपमा परिणत हुँदै गएको छ । केही वर्षअघि अस्तव्यस्त मण्डप परिसर ललितपुर महानगरले व्यवस्थित बनाएपछि नागरिकका लागि प्रतीक्षास्थलका रुपमा पनि विकसित भएको छ ।
महानगरले ललितमण्डप परिसरलाई पार्कका रूपमा व्यवस्थित गरेपछि थप आकर्षक बनेको स्थानीय बताउँछन् । बस्न चारैतिर बेञ्च र ठाउँठाउँमा गमालामा हरियो बिरुवा राखिएका छन् । मुख्य चोकमा व्यवस्थित पार्क निर्माण भएपछि नागरिकले सहजका साथ आराम गर्न र प्रतिक्षा गर्न पाएका छन् ।
ललितपुरलाई सुन्दर संस्कृतिक सहरका रूपमा स्थापित गर्ने लक्ष्यकासाथ जावलाखेलको ललितमण्डप पसिरलाई व्यवस्थित गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “जावलाखेल ऐतिहासिक ठाउँ हो । ऐतिहासिक सम्पदाको संरक्षण गर्दैै यहाँको सम्पदाको प्रवर्द्धन र व्यवस्थापनमा महानगर योजनाबद्ध रूपमा लागेको छ ।”
यहाँ हरेक वर्षको रातो मच्छेन्द्रनाथको रथारोहनपछि अन्तिम दिनमा भोटो देखाउने गरिन्छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार रातो मच्छिन्द्रनाथको रथ तानेपछि राष्ट्र प्रमुखद्वारा भोटो देखाउने अन्तिम दिन यहाँ राखिएका गमला र बेञ्चहरू अर्को ठाउँमा सारिन्छ ।
ललितमण्डप छेउमा रहेका पाटी ९फल्छा० र जावलाहिटी ९गैरेधारा० भने ललितपुर महानगरले यसअघि पुनःनिर्माण गरिसकेको छ । ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी निर्माण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । नजिकै रहेको सदर चिडियाखाना, जिल्ला प्रहरी परिसरलगायत अन्य सरकारी कार्यालय यहाँ रहेकाले पनि जावलाखेल चोकको ललितमण्डप परिसरमा निर्मित पार्क आमनागरिकका लागि उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।