बिहिबार, फागुन २९, २०८१

सबै मिलेर अवस्था परिवर्तनका लागि काम गरौँ : कांग्रेस महामन्त्री थापा


नवलपरासी (ब सु प), २८ फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था परिवर्तनका नाममा जनतालाई भड्काउनेभन्दा सबै मिलेर अवस्था परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको सुनवलमा नेपाली कांग्रेस क्षेत्र नं २ (क) ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालसम्म भएका उपलब्धि र कमजोरीको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । “हामी सबैले आ–आफ्ना कमजोरी र गल्तीलाई सुधार्ने हो । दशकौँको सङ्घर्षपछि प्राप्त व्यवस्थाबाटै जनअपेक्षाअनुसार काम गर्ने थुप्रै सम्भावना छन् तर व्यवस्था फेर्ने नाममा समय खेर नफालौँ । लामो संघर्षपछि आएको संविधानमा भएका विभिन्न व्यवस्थालाई सुधार्दै, हाम्रा कमजोरी केलाउँदै अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।

उहाँले हाल जनता भड्काउने काम भइरहेको भन्दै त्यसलाई असल काम र आवश्यक संवादमार्फत रोक्नुपर्ने धारणा राख्नुभयो । “हाल विविध कारणले रिसाएका नागरिकलाई थप भड्काउने प्रयत्न भइरहेको छ । कतिपय हाम्रै कारणले पनि त्यसमा मलजल पुगिरहेको छ । त्यसमा सचेत हुनैपर्छ । सुधारका लागि काम गर्नैपर्छ । नागरिकले सुशासन, विकास, हाम्रो राजनीतिक चालचलनबारे उठाइरहेका प्रश्नको सम्बोधन गर्नुपर्छ”, महामन्त्रत्री थापाको भनाइ थियो ।

उहाँले प्रदेशमा दुई/तीनवटा मन्त्री भए काम चल्ने अवस्थामा धेरै मन्त्री आवश्यक नरहेका र केन्द्रमा सरकार बदल्नेवित्तिकै प्रदेशको मुख्यमन्त्री फेर्ने काम रोक्न आवश्यक रहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ