बुधबार, फागुन २८, २०८१

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : डुम्रेको अविजित अर्धशतकमा गण्डकीको कर्णाली विरुद्ध ४ विकेटको जित


२७ फागुन, दाङ : प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता-२०८१ मा दीपक डुम्रेको अविजित अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकालेको छ । मंगलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकीले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

९२ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका शुरुवाती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेका बेला दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए ।

१२ ओभरको खेल सकिँदा २२ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा उनीहरुले राम्रो साझेदारी गर्दै नतिजा आफ्नो पक्षमा पारे । दीपकले ७ चौकाको मद्दतमा ५० रन र सुजनले ३ चौकाको मद्दतमा २२ रन बनाए । टिमलाई जित दिलाउन अविजित अर्ध शतक बनाएका दिपक प्लेयर अफ द म्याच भए ।

कर्णालीका लागि दिवान पुनले ३ विकेट लिँदा दीपेन्द्र रावतले २ विकेट र युनिष ठकुरीले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका कुनै पनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । कर्णालीका लागि विपिन शाहीले २० रन, अर्जुन घर्तीले १७, विपिन रावलले १५, हिमांशु शाहीले १२ रन बनाउनुबाहेक अरु खेलाडीले रन जोड्न नसक्दा २७ दशमलव २ ओभरमा अलआउट हुँदै केवल ९१ रन बनायो ।

कर्णालीलाई सस्तैमा समेट्न गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान २-२ विकेट लिए । यस्तै, सन्दीप पराजुली र अमृत गुरुङको नाममा १-१ विकेट रह्यो । प्रतियोगितामा गण्डकीले दुई खेलमा पहिलो जित निकाल्दै २ अंक जाोडेको छ । यसअघि गण्डकीले सुदूरपश्चिम प्रदेशसँग ६ विकेटको हार व्यहोरेको थियो ।

अब बिहीबार विभागीय टिम एपीएफ र मधेश प्रदेशबीच खेल हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् ।

दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेल राउन्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् । आगामी चैत १६ सम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ